सामाजिक सुरक्षा भत्तामा अनियमितता रोक्ने गाउँपालिकाको अभियान



रामधन राई,खोटाङ ।

असोज–६, खोटाङस्थित साकेला गाउँपालिकाले सामाजिक सुरक्षा भत्तामा भइरहेका अनियमितता रोक्नका लागि अभियान थालेको छ । ‘फेक डकुमेन्ट’ बनाएर सामाजिक सुरक्षा भत्ता दुरुपयोग भइरहेको पाइएपछि गाउँपालिकाले अनियमितता रोक्न अभियान थालेको हो ।

वडा–वडामा मृत्यु भइसकेका, बसाई सरिसकेका वा अन्य व्यक्तीको नाममा नक्कली कागजात खडा गर्ने गरेको पाईएपछि कडाईका साथ अभियान थालिएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताउनुभयो । मृत्यु भइसकेका व्यक्तीको नाममा, एउटै व्यक्तीको नाम दोहोराएर, एउटै नागरिकता नम्बर देखाएर, एउटै जन्म मिति उल्लेख गरेर सामाजिक सुरक्षाभत्ता दुरुपयोग भइरहेको पाइएको गाउँपालिकाले जनाएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरणलाई चुस्त र पारदर्शी बनाउनका लागि गाउँपालिकाले पाँच वटै वडाका सामाजिक सुरक्षा भत्ता पाउने १ हजर २ सय १४ व्यक्तीको नामावली सार्वजनिक गरेको छ । ‘नक्कली व्यक्ती’को नाममा पनि सामाजिक सुरक्षा भत्ता भुक्तानी हुँदैआएको पाइएपछि दावी बिरोधका लागि असोज ५ गते नामावली सहित १५ दिने सूचना जारी गरिएको गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख डिल्लीमान राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्