डेंगुको प्रतिरोधात्मक क्षमता कोरोना विरुद्धको कवच



रियो डी जेनेरियो (एजेन्सी)

कोरोना भाइरससँग लडिरहेको विश्वका लागि एउटा राहतको समाचार आएको छ । ब्राजिलमा भएको एक शोधमा डेंगु प्रसार र कोरोना भाइरसबीचको सम्बन्धको खुलासा भएको हो । यस शोधको नतिजाले डेंगु ज्वर कोरोना भाइरस महामारी विरुद्ध रक्षा कवचको काम गरिरहेको देखाएको छ । डेंगुले केही हदसम्म रोग प्रतिरोधात्मक क्षमता प्रदान गरेको हुन्छ जसले कोरोना भाइरससँग लड्न मद्दत गरिरहेको छ ।

ड्युक युनिभर्सिटीका प्रोफेसर मिगुइल निकोलेलिसले समाचार एजेन्सी रोयटर्ससँगको वार्तालापमा सन् २०१९ र २०२० मा डेंगु ज्वरोसँगै कोरोनाको भौगोलिक प्रसारको तुलनात्मक आंकडा प्रस्तुत गरेका छन् । जुन देशमा यो वा गत बर्ष डेंगुको प्रकोप धेरै फैलिएको थियो, त्यहाँ कोरोना भाइरसको संक्रम कम छ र कम मात्र संक्रमण देखिएको निकोलेलिसले बताए ।

ब्राजिलमा भएको अध्ययनमा भनिएको छ, यो असाधारण जानकारी डेंगु भाइरस एन्टिबडी र कोरोना भाइरसबीच एक गुप्त सम्बन्धको सम्भावनालाई दर्साउँछ । यदि यो सही सावित हुन्छ भने डेंगु संक्रमण वा त्यसलाई समाप्त पार्न बनाइएको एक प्रभावकारी तथा सुरक्षित खोपले कोरोना भाइरसबाट पनि केही हदसम्म सुरक्षा दिन सक्छ ।

डेंगु र कोरोना भाइरसबीचको यो सम्बन्ध ल्याटिन अमेरिकाको अन्य हिस्सा र एसिया तथा प्रशान्त महासागरका देशमा पनि पाइएको शोध टोलीले बताएको छ । सोधमा जुन ब्यक्तीहरुको रगतमा डेंगुको एन्टिबडी छ, उनीहरुको जाँचमा कोरोना भाइरस एन्टिबडी टेस्टमा गलत तरिकाबाट पोजिटिव आइरहनु रोचक भएको प्रोफेसरले बताए । उनीहरु अहिलेसम्म कहिल्यै पनि कोरोना भाइरस संक्रमण भएकै छैन । यसले दुई भाइरसबीच प्रतिरक्षासँग जोडिएको केही सम्बन्ध छ जसको अपेक्षा कसैले नगरेको निकोलेलिसले बताए ।

यी दुई भाइरस फरक फरक परिवारका भएकोले पनि यो शोध महत्वपुर्ण भएको प्रोफेसर निकोलेलिसले बताए । यो शोध चाँदै नै एक वैज्ञानिक जर्नलमा प्रकाशित हुन गइरहेको छ । डेंगुसँग लड्ने क्रममा ब्राजिलमा कोरोना भाइरसबाट विश्वको अन्य भागमा भन्दा अपेक्षित कम मृत्यु भइरहेको र संक्रमणमा पनि कम देखिएको शोधले जनाएको छ । ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित ४४ लाख नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्