नासाद्वारा चन्द्रमामा मानव पठाउने योजना सार्वजनिक



वासिंगटन (एजेन्सी)

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पुन एक पटक चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने योजना सार्वजनिक गरेको छ । सन् २०२४ मा उक्त अन्तरिक्ष एजेन्सीले चन्द्रमामा यान अवतरण गर्ने छ । यसका लागि एजेन्सीले २८ अर्ब डलर खर्च छुट्याएको छ । यसमा १६ अर्ब डलर मोडुल निर्माणमा खर्च हुने छ ।

अमेरिकाले सन् १९६९ देखि १९७२ सम्म अपोलो ११ सहित ६ मिसन चन्द्रमामा पठाएको थियो । यसैवर्ष नोभेम्बर ३ मा अमेरिकामा चुनाव हुन गइरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यो परियोजनालाई आफ्नो प्राथमिकतामा राखेको छ । यसका लागि कांग्रेसद्रवारा पारित हुने रकम २०२१ देखि २०२४ को बीचको आर्थिक बर्षमा समावेश गरिनेछ ।

देशमा चुनाव भएकोले मिसनको बजेटलाई लिएर एक प्रकारको जोखिम रहेको नासाका प्रमुख जिम ब्राइडनस्टिनले बताए । यदि कांग्रेसले ३ अर्ब २० करोड डलरको पहिलो खेपलाई डिसेम्बरसम्ममा स्विकृति दिएमा सन् २०२४ मिसनमा काम जारी राख्न सहज हुने उनले बताए ।

सन् १९६९ जुलाइ २० मा अन्तरिक्ष यात्री निल आर्मस्ट्रंग, एडविन एल्ड्रिन चन्द्र सतहमा पहिलो मानव पाइला राखेका थिए । अमेरिकालाई यस मिसनको सफलतामा आशंका थियो । तात्कालिन राष्ट्रपति निक्सनको निर्देशनमा इन इभेन्ट अफ मुन डिजास्टर नामको शोक सन्देश पनि तयार पारिएको थियो । यद्यपी मिसन सफल रह्यो र यो भाषण कहिल्यै पढिएन । अपोलो ११ पछि ५ मानव अभियान चन्द्रमामा पठाइएको थियो जसमा अन्तिम उडान १९७२ को थियो ।

प्रतिक्रिया दिनुहोस्