कोरोनाले आमा बितेपछि छोरा संक्रमित : सेनाको पाँचखाल ब्यारेकमा ७८ जनालाई संक्रमण



मोतीराम तिमल्सिना,काभ्रे ।

भुम्लु गाउँपालिका वडा नम्वर २ घर भएकी ५६ बर्षिया महिलाको कोरोनाकै कारण भदौ ३१ गते काठमाडौ मेडिकल कलेजमा उपचार गर्दा गर्दै निधन भयो । आमाको निधन भए पछि छोरामा पनि संक्रमण पुष्टी भएको छ । भदौ ७ गते महिलालाई ज्वरो र दम बढे पछि उपचारका लागि काठमाडौ लगिएको थियो । उपचारका क्रममा महिलामा दमका कारण खोकी बढेको र निमोनिया समेत भएको पुष्टी भएको थियो ।

अस्पतालले पहिलो पटक महिलामा गरेको कोरोना परिक्षण समेत नेगेटिभ आएकाले सामान्य अवस्थाबाटै उपचार भईरहेको थियो । दोश्रो पटक अस्पतालले भदौ २७ गते पिसिआर परिक्षणका लागि स्वाव संकलन ग¥यो । २८ गते महिलामा कोरोना पोजेटिभ देखियो । अस्पतालमा उपचारार्थ महिलामा २० दिन पछि कोरोना देखिए पछि अस्पतालको चरम लार्पवाहि भएको परिवारले गुनासो गरेका थिए ।

‘पहिलो पटक नेगेटिभ रिपोर्ट आएर निरन्तर उपचार भईरहेको अवस्थामा दोश्रो पटक त्यहि अस्पतालमा भर्ना भईरहँदा उहाँमा पोजेटिभ देखिनु अस्पतालको लार्पवाहि हो’–महिलाको छोराले भन्नुभयो–‘कोभिड पोजेटिभ भए पछि आमालाई हेर्न र छुन पनि दिईएन भदौ ३१ गते उहाँको निधन भएको जानकारी गराईयो ।’ आमाको निधन भएर किरिया बसे पछि छोराको परिक्षण गरिएको थियो ।

किरियामै रहँदा उहाँमा पनि पोजेटिभ देखिएको छ । भुम्लु गाउँपालिका वडा नम्वर २ सिम्थलीमा आमाको किरिया गरिरहेको अवस्थामा उनलाई स्वास्थ्यकर्मी र जनप्रतिनिधी तथा आफन्तले रेखदेख गरिरहेका छन् । गाउँपालिकाले उक्त क्षेत्र शिल गरेको छ । भुम्लुमा केहि दिन अघि एक महिलाको निधन भएको थियो । कोरोनाबाट निधन हुनेको संख्या भुम्लुमा २ पुगेको छ भने जिल्लामा ६ पुगेको छ । सोमबार साँझ धुलिखेल अस्पतालमा उपचारार्थ पनौती ५ घर भएकी ५० बर्षिया महिलाको निधन भएको थियो ।

सेनामा एकै दिन ६८ संक्रमित

नेपाली सेनाको पाँचखाल स्थित तालिम केन्द्रमा एकै दिन मंगलबार ६८ जनामा कोरोना पोजेटिभ देखिएको छ । छाउनी स्थित सेनाको अस्पतालमा गरिएको परिक्षणमा तालिम केन्द्रमा रहेका सैनिकहरुमा कोरोना पोजेटिभ देखिएको हो ।यस अघि उक्त ब्यारेकका १० जना ब्यक्तिहरुमा कोरोना संक्रमण देखिएको थियो ।

नेपाली सेनाले मिसन पठाउँदा उक्त ब्यारेकमा तालिम दिएर मात्रै पठाउने गरेको छ । विभिन्न देशमा जान छनौट भएका तथा तालिम केन्द्रमै कार्यरत ब्यक्तिहरुमा संक्रमण देखिएको हो । तालिम केन्द्रमा त्यति धेरै ब्यक्तिमा संक्रमण देखिए पनि जिल्ला स्थित कमाण्ड पोष्टसँग समन्वय र सहकार्य भएको छैन ।

सेनाको आफ्नै संरचना मार्फत संक्रमण रोक्ने प्रयास भएको हुन सक्ने कमाण्ड पोष्टले अनुमान गरेको छ । पाँचखालमै रहेको शशस्त्र प्रहरी गणमा रहेका १० प्रहरीमा पनि यस अघि संक्रमण देखिएको थियो । उनिहरु सबै निको भईसकेका छन् । नेपाल प्रहरीका २२ जनामा पनि संक्रमण पुष्टी भएको थियो ।

जिल्लामा संक्रमितहरुको संख्या ५ सय ४९ पुगेको छ । मंगलबार एकै दिन जिल्लामा ८० जना संक्रमित ब्यक्ति थपिएका छन् । संक्रमणकै कारण ६ जनाले ज्यान गुमाएका छन् । ३ सय ४० जना संक्रमण जितेर घर फर्किसकेको जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्