मास्कको रुपमा नाकसम्म अजिंगर बेरेपछि



लन्डन (एजेन्सी) ।

विश्वका प्राय देशले कोरोना भाइरस संक्रमण रोकथाम सार्वजनिक स्थानमा मास्क लगाउन अनिवार्य गरेको छ । कतिपय देशले मास्क नलगाउनेहरु माथि कडा कारवाही र जरिवाना तिराउने गरेका छन् ।

बेलायतमा पनि घरबाट बाहिर निस्कन फेस मास्क लगाउन अनिवार्य गरिएको छ । पुरै बेलायतमा नागरिकहरु विभिन्न प्रकार क्रिएटिव तथा रोचक र अनौथो देखिने मास्क लगाएका देखिन्छन् । यसबीच म्यानचेस्टरमा एक ब्यक्तीले जीउँदो अजिंगरलाई मास्कको रुपमा लगाएर भाइरल भइरहेका छन् ।

ती ब्यक्ती स्विन्टन र म्यानचेस्टर सिटी सेन्टरबीच चल्ने एक बसमा यात्रा गरिरहेको सीएनएनले जनाएको छ । कपडाको मास्क नभएपछि उनले आफुसँग राख्ने गरेको जिउँदो अजिंगरलाई गर्धनदेखि नाकसम्म बेर्न लगाए । त्यतिबेला बसमा केही यात्री मात्रै सवार थिए र उनीहरुलाई ती यात्रीले कुनै फन्नी मास्क लगाएको होला भन्ने लागेको थियो ।

केही समयपछि जब अजिंगर हलचल गर्न थाल्यो तब सहयात्रीहरुलाई उनले जिउँदो सर्प नै बेरेको हो भन्ने यकिन भयो । यस क्रममा सर्पले अन्य कुनै यात्रीलाई समस्या पारेन । बेलायतमा यातायात अधिकारीहरुले यात्रीहरुलाई यात्राका क्रममा मुख छोप्न यस प्रकारका जिंउँदो साँपको उपयोग नगर्न चेतावनी दिएको छ । उक्त बसमा यात्रा गर्नेहरुले यस घटनालाई रोचक भएको बताएका छन् ।

बेलायतमा मास्क लगाउन अनिवार्य गरेको छ र यसमा बढी उमेर, स्वास्थ्य तथा विकलांग समस्या भएकाहरुलाई भने छुट दिइएको छ । कोरोना भाइरस संक्रमणको दोस्रो लहर आइरहेको बेलायतमा लकडाउनको नियम कडा पारिएको छ ।

बेलायतका वरिष्ठ स्वास्थ्य सल्लाहकारले कोविड १९ संक्रमणको अवस्था अत्यन्त खराब स्थितिमा पुगिसकेको बताएका छन् । समय छँदै आवश्यक कदम नउठाउने हो भने विरामीको संख्या अत्यधिक बढ्ने चेतावनी दिएको छ ।

प्रमुख चिकित्सा अधिकारी क्रिस विट्टीले र सरकारका मुख्य वैज्ञानिक सल्लाहकार पेट्रिक वेलेन्स डाउनिंग स्ट्रिटमा संयुक्त रुपमा उपस्थित भई ताजा स्थितिको जानकारी दिएका थिए । प्रतिबन्द नलगाउने हो भने देशमा अक्टोबरको मध्यसम्ममा हरेक दिन कोरोना भाइरस संक्रमित ५० हजार पुग्ने उनीहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्