प्रेमको हत्या किन हुन्छ ?



मञ्जु भट्ट

स्कुलमा सँगै पढाउने अविवाहित एक सहकर्मीले माया–प्रेमकै कारण आत्महत्या गरेको सुन्दा म छाँगाबाट खसेजस्तै भएँ । उनले यही लकडाउनका बीच गत जेठमा आत्महत्या गरेकी थिइन् । विद्यार्थीको गृहकार्य जाँच गर्दा होस् या खाजा खाँदा, धेरैजसो हामी सँगै हुन्थ्यौं । उनी धेरै निडर, मायालु र एकदमै मेहनती थिइन् । गणित पढाउने उनी कमजोर विद्यार्थीको जग उठाउन हरतरहले लागिपरेकी देखिन्थिन् । माया–प्रेममा अर्काको मात्रै होइन, कुरा मिलेन भने आफूहरु पनि सिद्धिन बेर लगाउँदैनन् भन्ने ज्वलन्त उदाहरण यही लकडाउनमा देखें ।

माया–प्रेमकै कारण रुकुममा घटेको अकल्पनीय घटनाले लकडाउनको समयमा घरमा बसिरहेका सबैको मुटु नै हल्लायो । कानुनले जे–जस्तो सजाय दिए पनि साँच्चिकैको जीवनमा भने एकचोटि फेरि प्रेमको हार र जातीयताको हिसाबले उच्च कोटिमा रहेका भनिएकाहरुको जीत भएरै छोड्यो । भेरी नगरपालिका–४, जाजरकोटका नवराज विकको अंश रुकुमको चौरहजारी–१ की सुष्मा मल्लको कोखमा पालिइरहेको थियो । यसै बेला घर–परिवारले आफ्नो बिहे अर्कैसँग गरिदिन लागे भनेर फोनको म्यासेजमार्फत सुष्माले नै नवराजलाई १०–१२ जना मान्छेसहित लिन आउनू भनेकी रहिछन् । सुष्माकै आग्रहमा नवराज त्यहाँ गएको देखिन्छ । यदि नवराज विकको केटी भगाउनेबाहेक अरु नराम्रो सोच रहेको भए उनीहरु ठूलै योजना बनाएर आक्रमण गर्न सक्थे होलान् । त्यसरी ज्यान बचाउन भाग्ने थिएनन् होला ।

अल्लारे केटाहरुले बेहुली भगाउने धुनमा अप्रत्यासित आक्रमणको आशा पटक्कै गरेका थिएनन् । गाउँ नै उर्लेर आएपछि निहत्था १९ जनालाई पक्रेर प्रहरीकोमा बुझाउन सक्थे वा प्रहरीलाई तुरुन्तै फोन गर्न सक्थे । तर यस्तो गरेको कहीँ देखिएन । उल्टै ढुंगामुढा गरेर कुटी–कुटी मार्नु कत्तिको जायज हो ? अन्त भाग्न मिल्ने ठाउँ बन्द गरिँदा बाध्य बनाएर भेरी नदीमा हाम फाल्न लगाइनु हिंसाको पराकाष्ठा हो । मृतक सबैमा गहिरो चोट लागी टाउको कुच्चिनु र अण्डकोष सुन्निनु भनेको निर्घात आक्रमण भएको देखिन्छ । चरम कुटपिटसँगै मृत्य भएपछि पनि हातखुट्टा बाँधेर भेरी नदीमा फाल्नुसम्मका कुकृत्य भएका रहेछन् भनिएको छ । जाजरकोट अस्पतालले दिएको पोस्टमार्टम रिपोर्टका अनुसार मृतक सबैको पेटमा पानी नभरिएको कारणले कुटपिटका कारण मृत्यु भइसकेपछि मात्र पानीमा फालिएको देखाएको थियो ।

केटी पक्ष १९ जना युवाहरुको समूह एक्कासि गाउँमा पस्दा शायद डराएको हुनुपर्छ । तर केटा र केटीको सम्बन्ध केटी पक्षलाई पहिलेदेखि नै थाहा नभएको होइन । केटाको घरमै गई कति दिन बसेर पनि आएकी रहिछिन् सुष्मा । यस्तोमा केटा–केटी दुवै पक्ष बसेर समाधान निकाल्नुपथ्र्यो । प्रहरी, कानुनको सहायता लिएको भए पनि हुन्थ्यो । छोरीले दलितसँग बिहे गरी भने आफ्नो जात जाने, बदनाम हुने भन्दैमा ६ जनाको निर्ममतापूर्वक हत्या गर्नु एउटा खोक्रो ढोंगबाहेक केही देखिँदैन । प्रश्न उठछ– यदि नवराज पनि ठकुरी जातिकै र सम्पन्न परिवारको भए सुष्माको परिवारले यो सम्बन्धलाई अस्वीकार गर्थे त ? पक्कै पनि गर्दैनथे होला ।

जातको कुरा गर्नुहुँदैन भन्दा पनि आफैं देखिने गर्छ । अहिले कतिपय आमाबुबाले आफ्ना छोरोछोरीले लभ गरुन् तर आफ्नै जात–कुटुम्ब मिल्नेसँग गरुन् भन्न थालिसकेका छन् । लभ पनि जात मिल्नेसँग गरेको रहेछ भने खुशी भएर बिहे पनि गरिदिन्छन्, हैन भने सकेसम्म मञ्जुरी दिँदैनन् । यस्तोमा केटाकेटीले या त भागेर बिहे गर्छन् वा आत्महत्या गर्छन् अथवा जीवनभर तड्पिएर बसेका घटनाहरु छन् ।

हुन त प्रत्येक आमाबुबाले छोराछोरीको बिहे गर्न जातपात, खानदान, धनी–गरिब, नाता–कुटुम्ब, धर्म–परम्परा हेरेरै बिहे गरिदिन्छन् । यो हाम्रो समाजको तीतो सत्य नै हो । यदि यस्तो गरिएन भने दुईवटा बेमेल परिवारमा सम्बन्ध राम्रो हुँदैन पनि । केटीलगायत सबैले यसको परिणाम भोग्नुपर्छ । एउटा गरिब गाउँलेको छोरीले धनी शहरको केटासँग बिहे गर्दा दुईवटा परिवारबीचमा तालमेल मिलाउन गाह्रो पर्न सक्छ । केटी माग्न जाँदा दलित ठकुरीको घरमा पक्कै जाँदैन र ठकुरी पनि दलितको घरमा जाँदैन । रीतिरिवाज, धर्म–संस्कृति, परम्परा, नाता–कुटुम्ब मिलेको हेरेर नै बिहे गरिन्छ ताकि बिहेपछि कुनै अप्ठ्यारा नआऊन् भनेर ।

तर जाजरकोटको घटना यो भन्दा नितान्त फरक छ । यहाँ केटाकेटी एक–अर्कोलाई माया गर्छन् । उनीहरुलाई जातपात, नाता–कुटुम्बसँग मतलब छैन । माया अन्धो हुन्छ भनेको शायद यसैले होला । यस्ता फरक जोडीहरुलाई समाजले बुझेन भने दुर्घटना हुन सक्छ भन्ने कुरा अचेल जोसुकैलाई पनि थाहा हुन्छ । यसरी उनीहरुलाई मारेर हत्यारा हुनुभन्दा त उनीहरुको खुशीको लागि सहजताका साथ सम्बन्धलाई स्वीकार्नु नै उत्तम हुन्छ । अहिले संविधानले पनि अन्तरजातीय विवाहलाई मान्यता प्रदान गरिसकेको छ । विज्ञानका अनुसार अन्तरजातीय विवाहबाट जन्मिएका सन्तानहरु झनै बुद्धिमान् हुन्छन् ।

कसैको ज्यानभन्दा ठूलो कसरी हुन सक्छ जात, धर्म, परम्परा, संस्कृति ? पृथ्वीनारायण शाहले पनि नेपाल चार वर्ण र छत्तीस जातको साझा फूलबारी हो भनेका थिए । यहाँ कसैलाई दलित, कसैलाई ठकुरी, कसैलाई सार्की भनेर बोलाउँदा फरक नपर्नुपर्ने हो । विभिन्न जातजाति एकले अर्कालाई सजिलै चिन्न, जान्न, फरक छुट्याउन राखिएका हुन्, न कि कसैले कसैलाई हेप्न, जिस्क्याउन र होच्याउन । तर फरक पर्ने गरेको छ यहाँ नीच मानसिकताले । दलित भन्दैमा सानो जात र ब्राह्मण भन्दैमा ठूलो जात हो भन्ने हाम्रो समाजको सोच नै खराब छ ।

जातजाति हामीले नै बनाएका उपज हुन् । आमाबुबासँग विछोड हुन पुगेको नाबालकलाई कसैले धर्मपुत्रका रुपमा पाल्छ भने ठूलो भएर त्यो बालकले आफ्ना जन्म दिने आमाबुबाको भन्दा कर्म दिने, पाल्ने आमाबुबाको जात–धर्म अँगाल्छ । त्यतिखेर त्यस बालकको के धर्म, जात, वर्ग थियो भनेर कसैलाई मतलब हुँदैन । त्यसै गरी एउटा बालकको जन्म हुँदा ऊ नाङ्गै जन्मिन्छ र उसको रगत रातो हुन्छ । मरेपछि उसले सबैकुरा यहीँ नै छोडेर जान्छ । बाहिरी आडम्बर सबै मानवसिर्जित नै हुन् । कोही ब्राह्मणको घरमा जन्मिदैमा ठूलो भएको मानिदैन । ठूलो हुनुपर्छ उसको सोच, मन, विचार र कर्म ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेको ‘क्षत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ भन्ने पङ्क्तिहरु नपढेका शायदै कोही होलान् । राम्रो कुरालाई पढेर व्यवहारमा उतार्न सकिएन भने पढ्नु र नपढ्नुमा केही फरक हुँदैन । अहिले पनि कतिपय अन्तरजातीय जोडीहरुलाई परिवारले स्वीकार्न नसक्दा घर जान पाएका छैनन् । पैसा तिरेर तीन घण्टा सिनेमा हलमा वा घरमै पनि फिलिम हेर्ने गर्छौं । त्यस फिल्ममा प्रेम गर्ने केटाकेटीको मिलन भयो भने हाम्रो मन शान्त हुन्छ । तीन घण्टाको समय र पैसा खर्च गरेकोमा पछूतो लाग्दैन । तर यदि अन्तिममा वियोगान्त रहेछ भने धेरै दिनसम्म पनि मन बेचैन रहन्छ । मिलन हुनुपर्ने, किन विछोड भयो होला भन्ने मनमा आइरहन्छ ।

फिल्मका काल्पनिक कुरालाई हामी साँच्चै ठान्न पुग्छौं तर यथार्थमा घटिरहेका घटनाका अगाडि आँखा चिम्लिन पुग्छौं । आफूले प्रेम गर्नेसँग हामी छुट्टिन चाहँदैनौं तर अर्काले गरेको प्रेमको भने कदर गर्न सक्दैनौं । जसका कारणले बेला–बेलामा गम्भीर दुर्घटना हुने गरेका छन् । रुकुम घटनामा नवराजलगायत अन्य पाँच जनाको घर उजाड भएको छ । प्रेमीसँग विछोड भएकी पे्रमिकालाई पनि कहाँ चैन छ होला र ? हत्यामा संलग्न अरुलाई पनि कहाँ शान्ति मिल्ला र ? भारतको आगरामा रहेको ताजमहल भारतका मुगल सम्राट शाह जहाँले सन् १६३१ देखि सन् १६४८ को बीचमा आफ्नी प्रिय पत्नी महारानी मुमताजको यादमा बनाएका थिए । प्रेमको प्रतिकस्वरुप आगरामा ठूलो ताजमहल बन्यो । लाखौं पर्यटक बर्सेनि ताजमहल हेर्न जान्छन् तर संसारको सबैभन्दा सुन्दर तथा बाँच्ने आधार प्रेमको मृत्यु गर्नुहुँदैन भनेर शायदै कसैले त्यहाँ कसम खान्छन् ।

प्रेम भनेको त्यस्तो अवस्था हो, जसमा मान्छे साँच्चै अन्धो हुन्छ । यस्तोमा उनीहरुले एक–अर्कालाई पाउनुबाहेक अरु कसैको, यद्यपि आफ्ना जन्म दिने आमाबुबाको बारेमा समेत सोच्दैनन् । त्यसैले साँचो प्रेम गर्नेहरुलाई छुट्याउनुभन्दा पनि उनीहरुलाई मिलाउनुमा नै सबैको भलाइ हुन्छ भन्ने कुरा प्रत्येक आमाबुबाले बुझ्नु जरुरी भइसकेको छ । आफ्नो सन्तानको कारणले अर्काको सन्तानले र अर्काको सन्तानका कारणले आफ्नो सन्तानले दुःख नपाओस् भनी आमाबुबा चनाखो भएर बस्नुपर्ने बेला भइसकेको छ ।

सामाजिक सञ्जालका कैयौं फाइदासँगै बेफाइदाहरु पनि देखिँदै गएका छन् । यहाँ पनि फेसबुकबाट शुरु भएको चिनजान, मित्रता अनि लभ पछि मृत्युसम्म आइपुगेको थियो । प्रत्येक अभिभावकले घरमा उमेर पुगेका सन्तानका हरेक चाहना, इच्छालाई बेवास्ता गर्नुभन्दा पनि मित्रवत् व्यवहार गरेर उनीहरुलाई बुझ्नु जरुरी देखिन्छ । हैन भने यस्ता घटना फेरि पनि नदोहोरिएलान् भन्न सकिन्न । जाजरकोट घटनामा पनि माया गर्ने जोडीको मानसिकता बुझ्न खोजेको भए शायद यस्तो दुर्घटना हुँदैनथ्यो होला । जे होस्, घटनाको निष्पक्ष छानबिन भई दोषीलाई सजाय भएको छ । सजाय कडाभन्दा कडा हुनुपर्छ, ताकि अबदेखि यस्ता घटना घटाउनुभन्दा पहिले मानिसले हजार बार सोचोस् । समयमै सहज व्यवस्थापन भइदिएको भए मेरो सहकर्मीबाट पनि शायद आत्महत्या हुने थिएन ।

प्रतिक्रिया दिनुहोस्