रोमाञ्चक खेलमा दिल्ली विजयी



अबुधाबी, (एजेन्सी)

इन्डियन प्रिमियर लिग (आईपीएल)को १३आंैं संस्करणअन्तर्गत दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पन्जाबबीचको खेल रोमाञ्चक तरिकाले समाप्त हुँदा दिल्लीले बाजी मारेको छ।

आइतबार भएको सो खेल टाइ भएको थियो र सुपर ओभरमा दिल्लीले पन्जाबलाई हराएको थियो। कागिसो रबाडाले दिल्लीलाई जित दिलाएका थिए। उनले सुपर ओभरमा केवल २ विकेट लिएर २ रन मात्रै दिए। जसले गर्दा पन्जाबले सुपर ओभरमा दिल्लीलाई ३ रनको लक्ष्य दिएको थियो। यो आईपीएलमा सुपर ओभरमा सबैभन्दा कम लक्ष्यको कीर्तिमान बनेको छ।

यसअघि सुपर ओभरमा सबैभन्दा कम लक्ष्य ६ रनको कीर्तिमानी थियो। जुन मिचेल जोनसन र जसप्रीत बुमराहको नाममा रेकर्ड थियो। जोनसनले सन् २०१५ मा राजस्थान रोयल्स र बुमराहले सन् २०१७ मा गुजरात लायन्सविरुद्ध कम रन बनाएर कीर्तिमान राखेका थिए। साथै, पन्जाब र दिल्लबीच भएको सुपर ओभर आईपीएल इतिहासमा १०औं अवसर थियो।

दिल्लीका लागि सबैभन्दा महँगो दाममा अनुबन्ध भएका रिसभ पन्तले संकट टारेका थिए। १५ करोड भारुमा दिल्लीले उनलाई रिटेन गरेको थियो। उनले संकटमा परिसकेको दिल्लीका लागि ३१ रनको योगदान दिए। यस्तै, सस्तोमा टोलीमा अनुबन्ध भएका मोहित शर्मा भने महँगो साबित भए। ५० लाखमा दिल्लीमा अनुबन्ध भएका उनले ४ ओभरमा १ विकेट लिन ४५ रन खर्चेका थिए।

यसैगरी, पन्जाबका लागि सबैभन्दा महँगो खेलाडी कप्तान लोकेस राहुल हुन्। ११ करोड भारुमा अनुबन्ध भएका उनले खासै केही गर्न सकेनन् र उनी २१ रनमै पवेलियन फर्केका थिए। उनले २ चौका र १ छक्का प्रहार भने गरेका थिए। टोलीका लागि २५ लाखमा सस्तैमा अनुबन्ध भएका सरफराज खानले पनि १२ रन मात्रै योगदान गर्न सकेका थिए।

पन्जाबले १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा ५५ रनका लागि नै ५ विकेट गुमाएको अवस्था थियो। ओपनर मयन्क अग्रवालले एक इन्ड सम्हालिरहेका थिए। तर, जित भने उनले दिलाउन सकेनन्। पन्जाबलाई अन्तिम बलमा जितका लागि १ रनको आवश्यक थियो। क्रिस जोर्डन रनआउट भएपछि स्कोर बराबर भएको थियो।

पछिल्लो संस्करणमा पन्जाबका कप्तान रहेका अश्विनले यसपटक दिल्लीबाट खेलेका छन्। उनले एक ओभरमा २ विकेट लिए। उनी फिल्डिङमा चोट लागेर मैदान बाहिर जानुपरेको थियो। उनको काँधमा केही समस्या आएको र केही खेलबाट बाहिरिने सम्भावना रहेको दिल्लीले जनाएको छ।

टस हारेर पहिलो ब्याटिङ गरेको दिल्लीले १३ रनमै ३ विकेट गुमाएको थियो। कमजोर बनेको टोलीलाई रिसभ पन्त र कप्तान श्रेयस अ्ययरले माथि उकासेका थिए। पन्तले ३१ रन र अ्ययरले ३९ रन बनाएका थिए। उनीहरूले चौथो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए। तर, मार्कस स्टाइनिसले अन्तिमतिर सानदार ब्याटिङ देखाए। म्यान अफ द म्याच घोषित उनले २१ बलमा ५३ रन बनाएका थिए।

पन्जाबको अन्तिम ओभर निकै महँगो भएको थियो। अन्तिम ओभर क्रिस जोर्डनले गरेका थिए। उनकै ओभरमा दिल्लीले ३० रन बटुलेको थियो। उनको बलिङमा स्टोइनिसले पहिलो बलमा छक्का प्रहार गरेका थिए। एउटा बल वाइड गयो भने अर्को लगातार तीन बलमा चौका प्रहार गरिएको थियो। पाँचौं बललाई स्टोइनिसले छक्कामा परिणत गरी अन्तिम बलमा रनआउट भएका थिए।

यू–१९ मा चमत्कारिक खेल देखाएका रवि बिस्रोइ र वेस्ट इन्डिजका बलर सेल्डन काटरेलले पन्जाबका लागि आईपीएलमा डेब्यँ गरेका छन्। जसमा रविलाई १ विकेट हासिल हुँदा काटरेलले २ विकेट लिएका थिए। यस्तै, दिल्लीका लागि एन्रिच नोत्र्जेले आईपीएलमा पहिलो खेल खेलेका हुन्।

प्रतिक्रिया दिनुहोस्