उद्योग व्यवसायमा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह



काठमाडौं, (नेस)

नेपाल उद्योग परिसंघले स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न उद्योगी, व्यवसायी एवम् कर्मचारी मजदूरलाई आग्रह गरेको छ । रोगले भन्दा भोकले प्रभावित हुने देखिएकाले परिसंघले कोभिडसँगै काममा लागौं भन्ने नारासहित मनोवल उच्च बनाएर काममा फर्किदा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको हो ।

कोभिडको कारण धरासयी बन्दै गएको राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्नेदेखि परिसंघले सरकारसँग उद्योग व्यवसायहरुमा संक्रमण फैलिएमा संक्रमितको राम्रो उपचारको व्यवस्था गरी प्रभावित क्षेत्रमात्र लकडाउन गर्नुपर्ने जसबाट उद्योग व्यवसायलाई चलायमान बनाई राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्नबाट रोक्ने परिसंघको धारणा छ ।

सरकारलाई परिसंघले प्रोटोकल बनाउन दिएको राय सुझावलाई प्राथमिकताका साथ समावेश गरेको भन्दै आवतजावत, कार्यालय उद्योग परिसर प्रवेश, कार्यस्थल सरसफाइ र निसंक्रमणलाई पूर्णरुपमा पालना गर्नको लागि परिसंघका सदस्य लगायत सबै उद्योगी व्यवसायीलाई आग्रह गरेको हो ।

परिसंघले कार्यस्थलमा भौतिक दूरी कायम गर्ने, सवारी साधानको प्रयोग गर्ने सम्बन्धमा, उत्पादन प्रशोधन तथा सामाग्री व्यवस्थापन गर्दा समेत कोभिड प्रोटोकलको पूर्ण पालनाको लागि आग्रह गरेको छ । औद्योगिक उत्पादनहरु ढुवानी र बजार व्यवस्थापनमा समेत सरकारले तोकेका मापदण्डहरुको पूर्णपालना गर्नु भनेको छ ।

यसैगरी उद्योग सञ्चालन, ढुवानी तथा बजारीकरणको सिलसिलामा शंकास्पद संक्रमित व्यक्ति देखिएमा सुरक्षित तवरबाट स्वास्थ्य संस्थामा पु¥याउने, औद्योगिक प्रतिष्ठानमा सचेतना कार्यक्रम सञ्चालन गर्ने र व्यवस्थापनबाट प्रोटोकलको पालना भए नभएको सम्बन्धमा अनुगमन गर्ने कार्यलाई पनि प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याउन परिसंघले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्