कोरोनाले खुशी हुन दिएन सरितालाई



टंकराज अधिकारी, पोखरा

जन्मँदै दृष्टीले ठग्यो उनलाई, तर प्रतिभाले भने उनले दृष्टी हुनेहरुलाई पनि जित्दै आएकी छिन्।

दशैं आइसक्यो तिहार आइसक्यो
खुशी हुनुपर्ने यो मन पिरले खाईसक्यो
चाडबाड आउँदा शहर बजार खाली हुने थिएन
यसपाली त कोरोनाले खुशी हुन दिएन।

बहुप्रतिभाकी धनी दृष्टीबिहीन सरिता अधिकारीको हालै बजारमा आएको दशैं विशेष गीत दशैं आइसक्यो तिहार आइसक्यो गीतको अंश हो यो।

कोरोना कहरका कारण गीत संगीतको माहौल पोहोर परार जस्तो छैन, तर बजारमा गीत संगीत सार्बजनिक हुने क्रम रोकिएको छैन। अहिले चाडबाड मनाउने माहोल पनि छैन, तीज त खल्लो भैसक्यो, सायद दशैं तिहार पनि त्यस्तै हुनेछ। यो वर्षका चाडबाड यसै खल्लो हुने होला भन्दै सरिता अधिकारी र इश्वर सिंहले गाएको यो गीतमा बर्तमान समयको वास्तविकता प्रस्तुत गरिएको छ

न आकाशमा जहाज उड्छ न त गुड्छ गाडी
महामारी मै थपियो झन् पहिरो र बाढी।
पोहोर थियो चर्खे पिङ लिङगे पिङ अग्लो
यस पाली त केहि नि छैन क्यारी मेट्ने झल्को।

कोरोनाका कारण विदेशमा नै नेपाली दाजुभाइ रोकिनु परेको अवस्थालाई चित्रण गर्दै गीतमा भनिएको छ

परदेशी त परदेशमै भए अलपत्र
घर सम्झेर आउँछु भन्ने थिए सपना कत्रा।
घरमा गरौँ दूर्गा पूजा देवी देउता पूजाँै
बाँच्न पाए नाच्दै रहौँला भन्ने सबले बुझौँ।
काँस जस्तै केश फुलेका बाबा आमा घरमा
यसपाली नि भेट्न पाईन परदेशीको कमै।
मखमलि फुलको माला सप्तरंगी टीका
तिहार पनि हुने भयो दशैँकै झँै फिका।।
चाडबाड आए नि यसपाली त छैन मनमा हर्ष
लिङगे पिङ देउसी भैलो खेलौला अर्को बर्ष।

डिजिटल स्टार प्रालीको युट्युब च्यानलमार्फत सार्बजनिक भएको गीता शब्द र संगीत स्वयम् गायिका अधिकारीको छ। गीतको म्युजिक भिडियोमा छायांकन गणेश सापकोटाको र सम्पादन समिर रामदामको छ। गीतको एरेन्ज तथा म्युजिक भिडियोको निर्देशन तारानाथ आचार्यले गरेका छन्।

सरिता प्रतिभाशाली व्यक्तिलाई कुनै बाधा अड्चनले छेक्दैन भन्ने दरिलो उदाहरण बन्दै आएकी छिन्। जन्मँदै गुमेको आँखाको ज्योती उनका लागि बाधाभन्दा बढी उत्प्रेरणा सावित भएको छ। एसएलसीमा राम्रो अंकसहित विशिष्ट श्रेणीमा उत्तिर्ण अधिकारीले बाल्यकालमै थुप्रै राष्ट्रिय बाल पुरस्कारलाई आप्mनो बनाएकी छिन्।

गायन र पढाईलाई सँगसँगै अघि बढाएकी २२ वर्षीय सरिताले म्यूजिकमा स्नातक उत्तिर्ण गरेकी छिन्। प्राज्ञिक र सांगीतिक क्षेत्रमा प्रशस्त सम्भावना बोकेकी उनले साहित्यकार डा. नवराज लम्साल, बिष्णुबाबु देवकोटा, टेकनारायन चापागाईका शब्द संकलनका गीत गाईसकेकी छिन्। राष्ट्रिय, लोक, आधुनिक, भजन विधाका तीन दर्जन गीत गाई सकेकी उनले प्रमोद खरेल, ईश्वर सिंह, ओम ज्ञवालीलगायतसँग गीत गाएकी छिन्।

उनको यसअघि कोही छैन शहरमा, बा आमाको गल्तिले (सडक बालबालिका लागि), कस्ले फेरि देला मेरो फाटेको जामा (बालगीत, राष्ट्रिय बाल दिबसमा प्रथम २०६९), सीप सिकौँ कुनैबेला जिन्दगीमा काम लाग्छ, काँडा बीच हास्ने फूल होकी जीवन (रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगिता २०७० मा तृतीय पुरस्कार प्राप्त) जस्ता गीत बजारमा आइसकेका छन्।

उनको सिमलको भुवा झैँउड्ने होकी मन, साथ देउ भन्दिन म, मेरो प्यारो ढिकुरपोखरी (जन्म ठाउँको गीत), कलकल बग्ने सेती तिरमा प्रकृतिको घर, दरौं खोला, चिलाउने बास, लोक गीत, प्रदेशीको चिनो, राधाकृष्ण जयजय (भजन), राष्ट्रिय गीत (राष्ट्रिय झण्डा उचाली सहितका तिन दर्जन बढी गीत आइसकेका छन्। विभिन्न प्रतियोगितामा भाग लिई पुरस्कृत हुँदै आएकी अधिकारीले २०६४ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्