विशेषाधिकार प्राप्त वर्ग भएकोमा पुरुषलाई लाज लाग्नुपर्छ ….



कपिल काफ्ले, काठमाडौं

महिला अधिकारकर्मीले दुई दिन लामो लैङ्गिक समानताका लागि पुरुषको सहभागिता विषयक राष्ट्रिय सम्मेलनको आयोजना गर्दै निकालेको निष्कर्ष हो– विशेषाधिकार प्राप्त वर्ग भएकोमा पुरुषलाई लाज लाग्नुपर्छ, पितृसत्तात्मक संरचनाले दिएको सुख भोग गरिरहने अनि लैङ्गिक समानताका पक्षमा फेसबुक स्ट्याटस राखेको वा कहिलेकाहीं लेख लेखेका कारण कुनै पुरुषले आफूलाई नारीवादी भएँ भन्ने ठान्छ भने त्यो पाखण्ड हो ।

आइतबार र सोमबार भर्चुयल भेला गरेर सम्पन्न भएको लैङ्गिक समानताका लागि पुरुष सहभागिता सम्मेलनको आयोजना हामी दाजुभाइ नामक संस्थाले गरेको हो । सम्मेलनमा प्रत्यक्ष करिब दुई सय र परोक्ष करिब दुई हजार व्यक्तिले सहभागिता जनाएको आयोजकले बताएका छन् ।

लैङ्गिक समानतासँग सम्बन्धित एक दर्जनभन्दा बढी विभिन्न विधामा प्यानल छलफल भएको सम्मेलनमा महिला अधिकार र नारीवादी आन्दोलनमा दशकौं लामो अनुभव सँगालेका अभियन्ताहरूको सक्रिय सहभागिता थियो ।

मेनइङ्गेज अलायन्स नेपाललगायतका संस्थाहरूको सहयोगमा सञ्चालित यस सम्मेलनको समापनको घोषणा गर्दै हामी दाजुभाइका अध्यक्ष संजोग ठकुरीले भन्नुभयो– ‘पितृसत्ताले हामी पुरुषलाई महिला र लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई भन्दा बढी अधिकार दियो, यो कुनै दृष्टिकोणले पनि गौरवको विषय रहेन, यो त चुनौतीको विषय बन्न पुग्यो ।’

चुनौतीको विषय किन बन्न पुग्यो भन्ने कुरामा प्रकाश पार्दै ठकुरीले भन्नुभयो– ‘को नारीवाद परस्त पुरुष हो वा होइन, कसले आफूलाई ‘प्रो–फेमिनिस्ट’ भन्ने विषय महŒवपूर्ण रहेन, व्यवहारमा पुरुष भएर महिलाले भन्दा अधिक अधिकार प्राप्त गर्न सकेकोमा रमाउने पितृसत्ताप्रति कृतज्ञ व्यक्ति लैङ्गिक समानताका लागि अभिशाप हो ।’

विश्वमा मेनइङ्गेज अलायन्सको अवधारणा सन् १९९५ मा छिमेकी चीनको राजधानी बेइजिङमा आयोजित चौथो अन्तर्राष्ट्रिय
सम्मेलनबाट शुरु भएको हो । सम्मेलनको उद्घाटन सम्बोधनका क्रममा महासचिव गर्टुड मोङ्गेलाले लैङ्गिक समानताका लागि पुरुषले साझेदारी निर्वाह गर्ने समय आयो, महिलाको आन्दोलनमा काँध मिलाउने बेला भयो भन्नुभयो । सम्मेलनले तयार पारेको प्रतिबद्धता–पत्र जसलाई ‘बेइजिङ प्लेटफर्म फर एक्सन’ नाम दिइयो, मा पनि समावेश गरियो, लैङ्गिक समानताका लागि पुरुषको साझेदारीलाई विश्वनारीवादी आन्दोलनले औपचारिकरुपमा प्रवेश गरायो ।

त्यसको नौ वर्षपछि, सन् २००४ मा आयोजित संयुक्त राष्ट्रसंघको एक अंगका रुपमा रहेको ‘कमिसन अन इस्टाटस अफ विमेन’को ४८औं अन्तर्राष्ट्रिय सम्मेलनले लैङ्गिक समानताका लागि पुरुष सहभागिता अवधारणा कार्यान्वयन गर्ने प्रयोजनका लागि एक प्रस्ताव पारित ग¥यो । सोही प्रस्तावलाई कार्यान्वयन गर्दै मेनइङ्गेज अलायन्स अन्तर्राष्ट्रिय समितिको गठन गरियो । नेपालमा सन् २००७ मा मात्र यसको कार्यान्वयन भयो, राष्ट्रसंघीय निकाय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र महिला अधिकारमा लोगेका नागरिक संस्थाहरूको पहलमा स्थापना गरिएको मेनइङ्गेज अलायन्स नेपाल अहिले सक्रिय छ ।

यसले अन्तर्राष्ट्रिय नारीवादी आन्दोलनमा सहयोगी र साझेदारको भूमिका निर्वाह गर्दछ । मेनइङ्गेज ग्लोबलका सह–निर्देशक लक्ष्मण बेल्बासेले सम्मेलनको समापनमा कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो– ‘पुरुषहरू महिला आन्दोलनको नेतृत्व लिनका लागि वा अर्को कुनै पुरुष समुदायको समानान्तर आन्दोलन सिर्जना गर्नका लागि मेनइङ्गेज अलायन्समा सहभागी भएका होइनन्, महिला आन्दोलनमा सहयोगी र साझेदारको भूमिका निर्वाह गर्ने यसको लक्ष्य हो ।’ बेल्बासेले सबैलाई सजग गराउनुभयो– ‘पुरुषहरूले जबाफदेही हुनु अत्यन्त आवश्यक छ, अन्तर्राष्ट्रिय महिला आन्दोलनलाई सघाउने र लैङ्गिक समानतायुक्त समाजको सिर्जनाका लागि इमानदारिताका साथ भूमिका खेल्ने प्रतिबद्धता हरेक मेनइङ्गेज संसगठनका सदस्यहरूमा हुनु आवश्यक छ ।’

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले लैङ्गिक समानताका लागि पुरुष तथा युवकहरूको सहभागिता बढाउने प्रयोजनका साथ काम गर्ने प्रतिबद्धतासमेत जनाएको राष्ट्रिय सम्मेलनमा अन्तर्राष्ट्रिय नारीवादी आन्दोलन, मेनइङ्गेज आन्दोलन, पुरुषनारीवादी हुन सक्छ?, पितृसत्ता तथा पुरुषत्व, लैङ्गिक तथा यौनिक पहिचान, लैङ्गिक सामाजिकीकरणका प्रक्रिया तथा प्रभाव, तुलनात्मक शिक्षा तथा लैङ्गिक हिंसा, न्याय तथा जिम्मेवारी, बालकाविरुद्ध यौन शोषण, पुरुषत्व, द्वन्द्व तथा शान्तिलगायतका विषयमा प्यानल छलफल भएको थियो । सम्मेलनले घोषणापत्र पनि जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्