क्यानको बोर्ड बैठक मङ्गलबारदेखि चितवनमा



काठमाडौँ ।नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक मङ्गलबारदेखि चितवनमा हुँदैछ । क्रिकेटको भावि योजना बनाउन बोर्ड बैठक आयोजना गरिएको हो ।

देशभरिका पदाधिकारी भाग लिन सहज होस् भनेर बैठक चितवनमा राखिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । उक्त बैठकमा सन् २०२० का लागि खेलाडीसित गरिने सम्झौताका विषयमा छलफल हुनेछ । आर्थिक गतिविधि अनुमोदन गर्ने तथा क्यानले भविष्यमा अपनाउने रणनीतिका विषयमा समेत छलफल हुने अधयक्ष चन्दले बताउनुभयो ।

क्यानले असोज मसान्तभित्र वार्षिक साधारणसभा गर्ने योजना बनाएको छ । यसअघि कोरोना भाइरसको महामारीका कारण क्यानको बोर्ड बैठक गर्नेबारे अन्योल भएको थियो ।यसअघि क्यानले क्रिकेट गतिविधि अघि बढाउन प्रदेश र जिल्ला सङ्घलाई बजेट उपलब्ध गराएको थियो ।

क्यानले ६ प्रदेश तथा २९ जिल्लालाई रकम उपलब्ध गराएको हो । हाल क्यानमा ३९ जिल्ला आबद्ध छन् । प्रत्येक प्रदेशलाई रु एक लाखका दरले तथा जिल्लालाई रु ५० हजारका दरले बजेट उपलब्ध गराएको थियो । सात प्रदेशमध्ये क्रिकेट संरचनाअन्तर्गत कर्णाली प्रदेशलाई प्रदेश नं ५ मै राखिएको छ ।

कर्णाली प्रदेशको सुर्खेत जिल्ला मात्र क्यानमा आबद्ध छ । कोरोनाका कारण क्रिकेट गतिविधि ठप्प नै थियो । अब यही परिस्थितिमा पनि कसरी गतिविधि सञ्चालन गर्न सकिन्छ भन्नेबारे बैठकमा छलफल हुने अध्यक्ष चन्दले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्