५ रुपैयाँ नहुँदा थन्कियो ७० हजार भ्याक्सिन



न्युज अफ नेपाल, हेटौंडा ।

पशुलाई उपचार नै नहुने रोग लागिहाल्यो भने बचाउन गाह्रो हुन्छ । पशुलाई लाग्ने रोगमध्ये बाख्रामा लाग्ने पीपीआर घातक मानिन्छ ।

यस्तो खतरनाक रोगबाट किसानको बाख्रा बचाउन सरकारले पठाएको ठूलो परिमाणको भ्याक्सिन हेटौंडामै थन्किएको छ । बाख्रामा उक्त भ्याक्सिन लगाउन प्राविधिकलाई दिनुपर्ने निकै सानो रकम बजेटमा नसमेटिँदा किसानका बाख्रा उक्त भ्याक्सिनबाट बञ्चित भएका छन् ।

स्थानीय निकायले उक्त भ्याक्सिनको पहुँच किसानसम्म पुर्‍याउन नसक्दा संघीय सरकारले काठमाडौंबाट पठाएको भ्याक्सिन थन्किएको हो । बाख्रामा लगाउन बजेट अभाव हुँदा हेटौंडास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रमा पीपीआर रोगविरुद्ध करिब ७० हजार थान भ्याक्सिन थन्किएको छ ।

‘एउटा भ्याक्सिन लगाउँदा प्राविधिकलाई ५ रुपियाँका दरले पारिश्रमिक दिनुपर्ने हुन्छ । ७० हजार भ्याक्सिन लगाउन ३ लाख ५० हजार चाहिन्छ । तर, उक्त शीर्षकमा बजेट थिएन । त्यसैले भ्याक्सिन थन्किएको हो,’ भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र प्रमुख बरिष्ठ पशु विकास अधिकृत सुशील केसीले भन्नुभयो–स्थानीय तहले आफ्नै प्राविधिक खटाएर भ्याक्सिन लगाउन सक्छन् भने भ्याक्सिन लैजानुहोस् भनेर स्थानीय तहमा पत्राचार ग¥यौं । तर, माग भएन ।

पशुपालन गरेर सम्बृद्ध बन्न चाहने किसानका लागि स्थानीय तहले चासो नदिएको केसीले बताउनुभयो । उहाँले भन्नुभयो–यदि स्थानीय तहले पशुसेवा केन्द्रसँग समन्वय गरेर भ्याक्सिन लैजाने हो भने हामी दिन तयार छौं । भ्याक्सिनको प्रयोग समय सकिएको छैन । तर, कुनै स्थानीय तहले समन्वय गरेका छैनन् । उक्त रोगको उपचार नहुने भएकाले समयमै भ्याक्सिन लगाउनुपर्ने उहाँ बताउनुहुन्छ ।

गत आर्थिक वर्षको अन्त्यमा पशुसेवा विभागबाट कार्यालयलाई प्राप्त भ्याक्सिन लगाउने प्राविधिकलाई दिनुपर्ने रकम नहुँदा विज्ञकेन्द्रमै भ्याक्सिन स्टोर गरेर राखिएको छ । यस वर्ष भने पीपीआर रोकथामका लागि भ्याक्सिन लगाउन संघीय सरकारले १० लाख छुट्याएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी एवम् पशु चिकित्सक डा। बब्लु ठाकुरले जानकारी दिनुभयो ।

अघिल्लो वर्ष आर्थिक अभावकै कारण मकवानपुरका बाख्रामा भ्याक्सिन लगाउन सकिएको थिएन । ‘यसैकुरालाई ध्यानमा राखेर संघीय सरकारले नै बजेट विनियोजन गरेको छ,’ उहाँले भन्नुभयो–उक्त रोग लागिसकेपछि बाँच्ने सम्भावना एकदम कम रहन्छ । त्यसैले बेलैमा भ्याक्सिन लगाउनुपर्ने हुन्छ । यस वर्ष यसै विषयमा बजेट आएकोले भ्याक्सिन लगाउन सफल हुनेछौं ।

बाख्रामा पीपीआर रोग लागे ७० प्रतिशतदेखि ९० प्रतिशत मर्ने गर्दछ । पीपीआर रोगसँगको प्रतिरोधात्मक क्षमता बढाउन हरेक वर्ष भ्याक्सिन लगाउनु नपर्ने तथा कम देखिने ठाउँमा ३ वर्षमा लगाउन सकिन्छ ।

पछिल्लो समय मकवानपुरमा पशुपालनप्रति आकर्षण बढेको पाइएको छ । यहाँ स्थानीय बाख्राको संख्या २ लाख २० हजार २ सय ३८, वर्णशंकर जातका ६१ हजार ४६ र उन्नत जातका ८ हजार १ सय ९४ गरी २ लाख ८९ हजार ४ सय ७८ बाख्रा रहेको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्