फ्रान्स र बेलायतमा कोरोना महामारीको दोस्रो लहर



पेरिस (एजेन्सी) ।

युरोपमा फेरी एक पटक कोरोना भाइरस संक्रमण फैलिने क्रममा तिब्रता आइरहेको छ । बेलायतपछि अब फ्रान्समा सेकेन्ड वेबमा संक्रमण फैलिरहेको छ । शनिबार देशमा कोरोनाबाट १३ हजार ५ सय भन्दा बढी संक्रमित भएको पुष्टि भएको थियो । यसमा फ्रान्सका अर्थब्यवस्था मन्त्री ब्रुनो ली मेरी पनि परेका छन् । उनले ट्विट गरि आफु कोरोना पोजिटिव भएको जानकारी दिएको हो ।

फ्रान्समा लगातार दोश्रो दिन कोरोना संक्रमण मामिला १३ हजार भन्दा बढी देखिएको हो । दक्षिण फ्रान्सको एसोन क्षेत्रका अस्पतालमा पर्याप्त संख्यामा नयाँ संक्रमित आइरहेको स्वास्थ्य एजेन्सीहरुले जनाएको छ । रोकथामको उपायका लागि स्वास्थ्य अधिकारी लगातार उच्चस्तरिय बैठक गरिरहेका छन् ।

संक्रमणको यो दोस्रो लहरले महामारीलाई लिएर फ्रान्स चिन्तित हुन जरुरी भइसकेको स्पस्ट संकेत दिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । संक्रमणको हटस्पटका रुपमा १ हजार स्थानको पहिचान गरिसकेको छ । फ्रान्समा महामारीले अहिलेसम्म ३१ हजार २ सय ७४ को मृत्यु भइसकेको छ । विगत २४ घन्टामा २६ जनाको मृत्यु भएको छ ।

फ्रान्समा हालसम्म ४ लाख ४२ हजार भन्दा बढी कोरोना संक्रमित भइसकेका छन् । अहिलेसम्म यस महामारीबाट ९१ हजार ५ सय ७४ ठीक भइसकेको छ । विगत ४ दिन देखि फ्रान्समा दैनिक १० हजार भन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । सरकारले कयौं इलाकामा लकडाउनको नियमलाई कडा पारेको छ । कयौं ठाउँमा नागरिकलाई जम्मा हुन पनि रोक लगाएको छ ।

दैनिक ६ हजार नयाँ संक्रमित

बेलायतमा कोविड १९ भाइरस संक्रमण पुन बढ्न थालेपछि लकडाउनलाई कडा पारेको छ । कोरोना संक्रमणको संख्या बढेपछि सरकारले इग्ल्यान्डको उत्तरी भागमा स्थानिय स्तरमा लकडाउनका प्रतिबन्दहरु थप कडा पारिएको हो ।

इग्ल्यान्डको नर्थवेस्ट, मिडल्यान्ड्स र वेस्ट योर्कसायर क्षेत्रमा एक अर्को परिवारसँग भेटघात गर्न, बार तथा रेस्टुरेन्टमा जान लगाइएका प्रतिबन्दलाई कडा पारेको बताइएको छ । यो नयाँ नियम मंगलबारबाट लागु हुनेछ ।

बेलायतको राष्ट्रिय तथ्यांक विभागले संक्रमण सर्वेक्षणमा इग्ल्यान्डमा एक दिनमा कोविड १९ का ६ हजार नयाँ संक्रमित आइरहेकोमा चेतावनी दिएको थियो ।

बेलायतका स्वास्थ्य मन्त्री मेट ह्यानककले ल्यान्कसायर, मेरसेसाइड, वेस्ट योर्कसायर, वारिंगटन, हाल्टन र बल्चरहेम्पटनमा संक्रमण बढेको जानकारी दिए । अब सार्वजनिक रुपमा ६ जना मात्र जम्मा हुन सक्नेछ । यो नियम उलंघन गरेमा १ सय पाउन्ड जरिवाना तिर्नु पर्नेछ । पटक पटक उलंघन गरेमा ३ हजार २ सय पाउन्ड सम्म तिराउन सक्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्