गल्याङ नगरपालिका बृहत गुरुयोजनाको तयारीमा



अमृत अर्याल, स्याङजा ।

कृषि, बन र जडिबुटीको क्षेत्र मार्फत समग्र विकास गर्ने उद्देश्यले स्याङ्जाको गल्याङ नगरपालिकामा बृहत अन्तरक्रिया कार्यक्रम भएको छ ।

गल्याङ नगरपालिकाको आयोजनामा कृषि ज्ञान केन्द्र स्याङ्जा, डिभिजन बन कार्यालय स्याङ्जा र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जावीच कृषि र जडिबुटीमार्फत गल्याङ नगरपालिकाको आर्थिक विकासका लागि गर्न सकिने कार्यका लागि बनाइने गुरुयोजनाको तयारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रियाले विभिन्न पाँच बुँदे प्रस्ताव सर्बसम्मत पारित गरेको छ । कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले राख्नुभएको प्रस्ताव सर्बसम्मतले पारित गरिएको हो । प्रस्ताव अनुसार नगरपालिकामा जडिबुटीको पकेट क्षेत्र निर्माण गर्ने र सामुदायिक बनमा समेत जडिबुटी खेती विस्तार गर्ने निर्णय भएको छ । यस्तै सामुदायिक बनलाई समेत प्रयोग गरी कृषि बन विस्तार गर्ने निर्णय पनि सर्बसम्मत रुपमा पारित भएको छ ।

यसैगरी, जडिबुटी, पशु, कृषिलाई जोडेर स्थानीय आर्थिक विकास (एलइडी) मार्फत बृहत पञ्चवर्षीय योजना बनाउने निर्णय पनि पारित गरिएको छ । यस्तै, एक घर, एक करेसाबारी बनाउने निर्णय पनि सर्बसम्मत पारित गरिएको छ ।

यसैगरी, प्रत्येक स्थानीयबासीको घरमा पाँच जडिबुटी, पाँच योग अभ्यास गर्ने र समूहगत रुपमा समेत जडिबुटी खेती विस्तार गर्ने निर्णय सर्बसम्मत पारित गरिएको छ ।

कार्यक्रममा नगरपालिका प्रमुख भुपराज अधिकारीले यस अन्तरक्रियाले पारित गरेका विषयलाई कार्यान्वयन गर्ने प्रतिबद्वता व्यक्त गर्नुभयो । उहाँले गल्याङ नगरपालिकामा आयुर्वेदिक अस्पताल स्थापना गर्ने प्रतिबद्वता पनि जनाउनुभयो ।

नगरप्रमुख अधिकारीले आफ्नै गाउँठाउँमा भएका जडिबुटीको पहिचान गरी सेवन गर्न नसक्दा समस्या आइरहेको भन्दै त्यसको पहिचानका लागि आयुर्वेदिक औषधालय अध्ययन केन्द्रमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले कोरोना भाइरसको संक्रमणका कारण नगरपालिकाले अगाडि सारेको विकास प्रक्रियामा बाधा आइरहेको भन्दै अब विकासको प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाका डाक्टर सुभद्रा कार्कीले व्यक्तिको जीवनशैलीका कारण विभिन्न रोगहरु सँग जुधिरहनुपरेको भन्दै जीवनशैली सुधार्नुपर्ने बताउनुभयो ।

उहाँले अव्यवस्थित जीवनशैलीका कारण विश्वमा ७५ प्रतिशत नसर्ने खालका रोगहरु भएको भन्दै त्यसबाट बच्न खानपिन सुधार्नुपर्नेमा जोड दिनुभयो ।

कतिपय धार्मिक र सांस्कृतिक परम्पराहरु बैज्ञानिक खालका भएकाले त्यसको अनुसरण गर्नुपर्ने डाक्टर कार्कीको भनाई छ । कार्यक्रममा डिभिजन बन कार्यालय स्याङ्जाका प्रमुख तोयानाथ पौडेलले बनको संरक्षण र उचित प्रयोग गरेर जीवनलाई सार्थक बनाउन सकिने बताउनुभयो ।

उहाँले बनजंगल र हावापानीलाई स्वस्थ्य राख्नु मानिसको दायित्व भएकोमा जोड दिनुभयो । प्रमुख पौडेलले स्थानीय सरकारको रुपमा रहेको गल्याङ नगरपालिकाले बनाउने गुरुयोजनामा सहयोग र सहकार्य गर्न आफु सधैं तयार रहेको बताउनुभयो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले पकेट क्षेत्रको रुपमा खेती विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले उच्च भेगहरुमा आलु तथा प्याज खेतीको विस्तार गर्न सुझाब दिनुभयो ।

प्रमुख अधिकारीले अनुदानका लागि मात्रै देखावटी खेती नगरी वास्तविक किसान हुन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले नगरपालिकाको विकासका लागि बृहत योजना बनाउन कार्यक्रम उपयोगी भएको बताउनुभयो ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रीका निजी सचिव चन्द्रमणी सापकोटाले समाज परिवर्तनका लागि सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

वडा नम्बर दशका अध्यक्ष ध्रुब शर्मा पङ्गेनीले बनजंगलको उचित सदुपयोग गर्न सकिएमा नगरको विकास गर्नका लागि कुनै समस्या नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्