विश्व शान्ति दिवस र मेरो जिम्मेवारी



डा. प्रेमराज ढुङ्गेल

हरेक वर्ष सेप्टेम्बर २१ का दिन संयुक्त राष्ट्र संघको आह्वानमा संसारभर विभिन्न नारासहित विश्व शान्ति दिवस मनाइन्छ । यसका लागि यस वर्ष (सन् २०२०) को नारा ‘सेपिँग पीस टुगेदर’ अर्थात् ‘सँगै मिलेर शान्तिलाई साकार पारौँ’ भन्ने राखिएको छ । यो विश्व शान्ति दिवस मनाउने सिलसिला कहाँबाट कसरी आयो ? के विश्व शान्ति सम्भव छ वा हाम्रो कल्पना वा सपना मात्र हो ? यदि सम्भव छ भने त्यसमा मैले के गर्न सक्छु ? आजको दिनमा हामीले यी जिज्ञासाहरुको उत्तर खोज्न प्रयत्न गर्नु सान्दर्भिक हुन्छ ।

जिरेमी गिले एक अन्तर्राष्ट्रिय चलचित्र निर्माता हुन् । संसारमा भइरहेको द्वन्द्व र हिंसात्मक घटनाहरुबाट दिक्क भएर यिनलाई के लाग्यो भने, वर्षमा एकदिन कमसे कम संसारभर युद्धविराम गरेर शान्तिसँग बस्न पाए हुन्थ्यो । यसै विषयमा उनले सन् १९९९ मा एउटा चलचित्र बनाए– पीस वन डे अर्थात् एक दिनको शान्ति । यसका लागि उनी लागिपरे ।

दोस्रो चलचित्रका लागि उनले द्वन्द्व र हिँसाले ग्रस्त देश अफगानिस्तान रोजे र त्यहाँ आफ्नो टिमसहित पुगे । सम्बन्धित विभिन्न निकायहरुका साथसाथै त्यहाँका विद्रोही लडाकू समूह तालिवानसँग कुरा राखे । तिनीहरु राजी भए । १० हजार स्वास्थ्य कार्यकर्ता परिचालित भए र कुनै रोकतोकविना लाखौँ बालबालिकालाई खोप खुवाउने कार्य सम्पन्न भयो । त्यस दिन सत्तरी प्रतिशत हिंसा कम भएको औपचारिक तथ्यांक नै सार्वजनिक ग¥यो, संयुक्त राष्ट्र संघको अफगानिस्तानस्थित कार्यालयले ।

जिरेमी अति उत्साहित भए । अफगानिस्तानमा त सम्भव भयो भने अरु ठाउँमा किन नहुने ? उनी झन् कस्सिएर लागे र यसका लागि थप पहल शुरु गरे । उनीलगायत सबैको प्रयासले काम ग¥यो । फलस्वरुप संयुक्त राष्ट्र संघले सेप्टेम्बर २१ का दिनलाई विश्व शान्ति दिवसको रुपमा मनाउने भनेर घोषणा ग¥यो र संसारलाई आह्वान ग¥यो ।

मेरो शान्तिको अनुभूति म गर्न सक्छु । तपाईंको शान्तिको अनुभूति तपाईंले गर्न सक्नुहुन्छ, म सक्दिन । त्यसैले यो मेरो व्यक्तिगत जिम्मेवारी हो, मभित्रको शान्ति मैले अनुभूति गर्ने, महसुस गर्ने अनि त्यसको विधि खोज्ने र व्यवहारमा उतार्ने, वास्तविकतामा उतार्ने । त्यसो गरेपछि मात्रै म बल्ल भन्न सक्छु– मैले त पाएँ, तपाईंले नि ?

राष्ट्र संघले धेरै अघि नै विश्व शान्ति दिवसको अवधारणा ल्याएको भए तापनि यही दिन तोकेर संसारभरि औपचारिकरुपमा घोषणा गरेर मनाउनचाहिँ सन् २००१ देखि मात्र शुरु गरेको हो । त्यसपछि बिस्तारै संसारभरिका सरकारी तथा गैरसरकारी संघसंस्था, व्यक्ति र विभिन्न सञ्जालहरुलाई आह्वान गर्दै सक्दो सहभागिता बढाउन थालियो, जुन हरेक वर्ष जारी छ ।

यसरी बढ्दो संख्यामा मानिसहरु शान्तिप्रति जागरुक र ऐक्यबद्ध हुनु पक्कै पनि पूरै संसारका लागि र मानवजातिकै लागि सकारात्मक र खुशीको कुरा हो । यो शान्तिको दियोलाई निभ्न दिनुहुँदैन, तेल थप्दै जानुपर्छ र थप दियोहरु बाल्दै जानुपर्छ । तर के वर्षमा एकदिन मात्र युद्ध विराम गरेर वा शान्तिको पक्षमा आवाज उठाएर विश्वमा शान्ति हुन्छ त ? हरेक व्यक्तिले हरेक दिन शान्तिको अनुभूति गर्नुपर्छ, अनि मात्र विश्वमा शान्ति हुन्छ ।

मलाई मन पर्नेमध्येका एक व्यक्तिको भनाइ यहाँ उद्धृत गर्नु सान्दर्भिक होला । संसारभर शान्ति वक्ताका रुपमा प्रसिद्ध र ५ दशकदेखि निरन्तर ‘शान्ति सम्भव छ’ भन्दै, संसारभरि हरेक वर्ष लाखौँ मानिससमक्ष आफ्नो कुरा प्रस्ट राख्दै, उत्पे्ररित गर्दै आएका यी व्यक्ति हुन्– प्रेम रावत । उनी भन्छन्, ‘सबैजना विश्व शान्तिको कुरा गर्छन् । तर विश्वमा त मानिस बस्छन् । शान्ति त विश्वलाई होइन, हरेक मानिसलाई चाहिएको छ । ती हरेक मानिसमा व्यक्तिगतरुपमा शान्ति हुनुपर्छ, अनि मात्र विश्वमा शान्ति हुन्छ ।’

कतिपय मानिस यो विश्व शान्ति भनेको वाहियात कुरा हो, यो सम्भव छैन भन्छन् । संयुक्त राष्ट्र संघ सम्मेलन केन्द्र, हारवर्ड एवं अक्सफोर्डजस्ता थुप्रै प्रतिष्ठित विशवविद्यालयहरु, युरोप, अस्ट्रेलिया, न्युजिल्यान्ड आदिका संसद्हरु तथा अनेकौं राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनहरुमा शान्तिको विषयमा बोल्न आमन्त्रण गर्दा शान्ति असम्भव कुरा हो भन्नेहरुलाई चुनौती दिँदै, ती ठूला–ठूला मञ्चहरुमा पोडियम ठोक्दै उनी भन्छन्, ‘शान्ति सम्भव छ । यसलाई फल्ने, फूल्ने मौका दिनुपर्छ । गरेर त हेरौँ ।’ हो त नगरीकन नै कसरी थाहा हुन्छ ? कोशिश गरेर त हेरौँ । विश्वका साढे ७ अर्ब मानिसमध्ये म पनि त एउटा हुँ । म आफूबाट त शुरु गरौँ ।

शान्तिको कुरा गर्नेबित्तिकै गौतम बुद्धको नाम हामी सम्झन्छौँ । उनले पनि पहिला आफैँले कोशिश गरे, आफैँले अनुभूति गरे, अनि बल्ल अरुलाई बाँडे, अरुलाई उत्प्रेरित गरे । उनले सामूहिकरुपमा सुनाए पनि हरेकले व्यक्तिगतरुपमा नै ग्रहण गरे, अभ्यास गरे । ती एक–एकजना गरेर नै हजारौँ, लाखौँ र करोडौँको संख्यामा पुगे ।
नेपालमा एक दशक लामो सशस्त्र द्वन्द्व सकिएर पनि अर्को एक दशक नाघिसक्यो । के अहिले नेपालमा शान्ति छ ? जुन सिलसिलामा अहिले हामी कुरा गरिरहेका छौँ, त्यसअनुसार त यो प्रश्न नै मिलेन ।

योभन्दा बढी मौलिक प्रश्न त के हुनुपर्छ भने, ‘के हरेक नेपालीमा अहिले शान्ति छ ?’ फेरि मेरो मस्तिष्कले सोच्न थाल्छ– ‘मेरो बुझाइमा शान्ति के हो ? यो कहाँ पाइन्छ ? कसरी प्राप्त हुन्छ ?’ भयङ्कर ठूलो युद्ध भइरहेको बेलामा युद्ध विराम भयो भने के त्यो शान्ति हो ? ठूलो कोलाहल वा कर्कसा आवाजहरुले कान खाइरहेको बेलामा सबै आवाज हराएर एक्कासी शून्यता छायो भने के त्यो शान्ति हो ? अथवा जोडले टाउको दुखेको बेलामा नदुख्ने औषधि खाएपछिको सन्चोपना शान्ति हो ? वा बेस्सरी पिसाबले च्यापेको बेलामा पिसाब गरेपछि हुने अनुभूति शान्ति हो ? कि सगरमाथा आरोहीले कठिन परिश्रमका साथ सगरमाथाको चुच्चोमा पुगेपछि गर्ने अनुभूति शान्ति हो ? हुन त होला, तर क्षणिक । त्यसो भए स्थायी शान्ति हो के ?

स्थायी चीज त त्यो हो, जुन मैले चाहेको बखतमा जहिले पनि, जति अवधिसम्म पनि उपभोग वा अनुभूति गर्न सक्छु । त्यसो हुन त त्यो चीज सधैँ मसँगै हुनुप¥यो । कोही अरुसँग उधारो लिएको, बाहिरबाट एकछिन्लाई खोजेर ल्याएको, कल्पना गरेको वा अरुको भान्छामा पाकेको शान्ति त स्थायी हुँदैन । गौतम बुद्ध, सुकरात, प्रेम रावतलगायत थुप्रै अनुभवी व्यक्तिहरुको एक मत छ– ‘जुन चीच, जुन शान्ति तपाईं खोजिरहनुभएको छ, त्यो त तपाईंभित्रै छ ।’

हो, तपाईंको शान्ति तपाईंभित्रै छ र मेरो शान्ति मभित्रै छ । मेरो शान्तिको अनुभूति म गर्न सक्छु । तपाईंको शान्तिको अनुभूति तपाईंले गर्न सक्नुहुन्छ, म सक्दिन । त्यसैले यो मेरो व्यक्तिगत जिम्मेवारी हो, मभित्रको शान्ति मैले अनुभूति गर्ने, महसुस गर्ने अनि त्यसको विधि खोज्ने र व्यवहारमा उतार्ने, वास्तविकतामा उतार्ने । त्यसो गरेपछि मात्रै म बल्ल भन्न सक्छु– मैले त पाएँ, तपाईंले नि ?
(लेखक डा. ढुङ्गेल भौतिक विज्ञानको प्राध्यापन र अनुसन्धानका साथै शान्ति तथा मानवीय हितका सामाजिक कार्यहरुमा संलग्न हुुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्