आउन थाल्यो पीसीआर रिपोर्ट



बैतडी, (नेस)

असोज १ गते मेसिन स्थापना भएको जिल्ला अस्पताल बैतडीबाट पीसीआर रिपोर्ट आउन थालेको छ । आइतबार सार्वजनिक रिपोर्टअनुसार १ जनामा कोरोना संक्रमण देखिएको छ ।

६६ जनाको परीक्षण गर्दा १ जनामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बरजंग सिंहले बताउनुभयो । ‘जिल्लामा नयाँ प्रयोगशाला सञ्चालनमा रहेकाले मेसिन प्रमाणीकरणको काम भइरहेको थियो । ३ दिनपछि रिपोर्ट सार्वजनिक गरिएयो, अबदेखि परीक्षण गरिएका नमुनाको रिपोर्ट हरेक दिन सार्वजनिक हुन्छ ।’ –उहाँले भन्नुभयो ।

शुक्रबार संक्रमण पुष्टि हुने बैतडीको दशरथचन्द नगरपालिका–४ का ४३ वर्षीय पुरुष रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । पुष्टि हुने ती पुरुष भारतबाट फर्किएर क्वारेन्टाइनमा बसिरहेको बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।

आइतबार थप १ जनाका कोरोना पुष्टि भएसँगै बैतडीमा संक्रमितको संख्या ३ सय ८८ पुगेको छ । जसमध्ये सक्रिय संक्रमित १३ जना मात्रै रहेका जनाइएको छ ।

सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकाका ६० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै दशरथचन्द नगरपालिकाका ५३, सिगास गाउँपालिकाका ५१, शिवनाथ गाउँपालिकाका ५०, पाटन नगरपालिकाका ४६, दोगडाकेदार गाउँपालिकाका ४५ जनामा संक्रमण पुष्टि भइसकेको छ । यस्तै मेलौली नगरपालिकाका ३४, सुर्नया गाउँपालिकाका २९, पुर्चौंडी नगरपालिकाका १० र डिलाशैनी गाउँपालिकाका १० जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्