महुरे–फोक्सिङ्टार सडकको काम सुस्त



रामधन राई, खोटाङ

सगरमाथा लोकमार्गअन्तर्गतको महुरे–फोक्सिङ्टार सडक कालोपत्रेको काम सुस्त वनेको छ । राष्ट्रिय गौरवको आयोजनामा पारिएको गाईघाट–दिक्तेल सडकको महुरे–सिम्पानी २२ किलोमिटर र सिम्पानी–फोक्सिङटार करिब २७ किलोमिटर सडक कालोपत्रेको कार्य सुस्त बनेको हो ।

निर्माण कम्पनीको लापरबाहीका कारण सडक निर्माणको काम सुस्त तथा गुणस्तरहीनसमेत बनेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ का वडाध्यक्ष दिनेश राईले बताउनुभयो । महुरे–सिम्पानी भारत कन्स्ट्रक्सन–सिद्धि शाही जेभी तथा सिम्पानी– फोक्सिङटारको काम जयनारायण पवन, मैनाचुली–खाम्पाचे जेभी कम्पनीले लिएका हुन् ।

खोटाङस्थित नुनथलाको महुरेदेखि राजापानीको सिम्पानीसम्म करिब ४६ करोड लागतमा गत असारसम्म काम सक्ने गरी २०७३ असारमा सम्झौता भएको थियो । उक्त सडक खण्डमा करिब ४० प्रतिशत मात्र काम भएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख गोपालप्रसाद ठकुरेलले जनाउनुभयो ।

निर्माण कम्पनीले कामदारलाई रकम नदिएपछि काम छाडेकाले समस्या आएको उहाँको भनाइ छ । उक्त सडक खण्डमा कार्यरत कामदारले पारिश्रमिक नपाएको आक्रोशमा गत पुस २० देखि झन्डै एक महिना सडक निर्माणको काम ठप्प पारेका थिए । सडक गुणस्तरहीन भएको भन्दै स्थानीयले पनि पटक–पटक बन्द गराएका थिए ।

गत साउन ११ गतेभित्र सक्ने गरी जयनारायण पवन, मैनाचुली–खाम्पाचे जेभी कम्पनीले २०७३ साउनमा सम्झौता गरेको सिम्पानी–फोक्सिण्टार खण्डको काम पनि अलपत्र रहेको छ । करिब ४९ करोड रुपियाँ लागतमा काम गर्ने सम्झौता भएको उक्त सडक खण्डमा करिब ६५ प्रतिशत काम सकिएको आयोजना प्रमुख ठकुरेलले सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्