बार्सिलोनालाई ४३औं पटक ग्याम्पर ट्रफी



लन्डन, (एजेन्सी)
स्पेनिस क्लब बार्सिलोनाले ४३औं पटक जोआन ग्याम्पर ट्रफीको उपाधि जितेको छ।
बार्सिलोनाले वार्षिकरूपमा आयोजना गरिने मैत्रीपँर्ण प्रतियोगिता जोआन ग्याम्पर ट्रफीको उपाधि जितेको हो। बार्सिलोनाले सिजन २०२०÷२१ को पँर्वसन्ध्यामा आयोजना गरेको २०२० को संस्करण जित्दै समग्रमा ४३औं पटक सो उपाधि जितेको छ।
शनिबार राति आफ्नो घरेलु मैदान क्याम्प नोउ रंगशालामा भएको फाइनल खेलमा बार्सिलोनाले पाहुना टोली इल्चेमाथि १–० गोलअन्तरको साँघुरो जित निकाल्दै प्रिसिजनको मैत्रीपँर्ण उपाधि जित्न सफल भएको हो।
इल्चे यसै सिजन तल्लो डिभिजनबाट बढुवा भएर ला लिगामा आएको टोली हो। तुलनात्मकरूपमा कमजोर टोलीविरुद्ध जित निकाल्न बार्सिलोनाले खेलको दोस्रो मिनेटमा गरेको एक मात्रै गोल नै जितका लागि पर्याप्त बन्यो। बार्सिलोनाले खेल शुरू भएको एक मिनेट ३७ सेकेन्डमै उक्त गोल गर्न सफल भएको थियो।
फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यानले जोर्डी अल्बाको पासमा बक्सभित्रबाट सहजै गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि मेसीको एक फ्रिकिक गोल इल्चेका गोलकिपरले बचाउँदा बार्सिलोनाले अग्रता बढाउन पाएन। इल्चेले खेल अवधिमा केही राम्रा अवसर बनाए पनि सदुपयोग गर्न भने सकेन।

प्रतिक्रिया दिनुहोस्