चिया मजदूरको ज्याला वृद्धि



नेपाल समाचारपत्र, भद्रपुर
चिया मजदूरको ज्याल वृद्धि भएको छ । न्यूनतम् ज्यालाको विषयमा चिया मजदूर र नेपाल चिया उत्पादक संघबीच लामो समयदेखि विवाद हुँदै आइरहेकोमा दुवै पक्षको सहमतिमा न्यूनतम ज्यालामा ३० रुपियाँ वृद्धि गरिएको हो ।
चिया मजदुरले अब दैनिक ४१५ रुपियाँ ज्याला पाउनेछन् । उक्त ज्याला साउनदेखि नै लागू हुनेछ । नेपाल चिया उत्पादक संघ र चिया मजदूर संगठनबीच चार बुँदे सहमतिसँगै ज्याला वृद्धि भएकोे हो । साथै वर्षमा २०७८ साउनदेखि थप २० रुपियाँ वृद्धि गर्ने सहमति पनि भएको छ । त्यसपछि मजदुरको दैनिक ज्याला ४३५ हुनेछ ।
सरकारले श्रम ऐन २०७४ अनुसार मजदूरलाई न्यूनतम ज्याला ३८५ रुपियाँ तोकेको छ । सोही बमोजिम चिया मजदूरले आधारभूत पारिश्रमिक २३१ र दैनिक महँगी भत्ता १५४ गरी दैनिक ३८५ रुपियाँ पाउँदै आएका थिए । सहमतिअनुसार चिया प्रशोधन वा कारखानामा काम गर्ने श्रमिक तथा बगानमा काम गर्ने नाइके, सरदार र चौकीदारको ज्यालामा अतिरिक्त दैनिक भत्ता १३ रुपियाँ वृद्धि गरी ५५ रुपियाँ कायम गर्ने निर्णय भएको नेपाल चिया उत्पादक संघ झापाका अध्यक्ष सुरेशकुमार मित्तलले जानकारी दिनुभयो ।
त्यस्तै २०७५ साउन १ गतेदेखि वृद्धि भएको दैनिक १०७ र २०७५ चैत १५ गतेसम्म फरक रकम सो समयमा कार्यरत रहेका श्रमिकलाई भुक्तानी गर्दै गरेका विषयलाई निरन्तरता दिई भुक्तान लिईसक्ने, श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ मा भएको व्यवस्थाहरूलाई सबै चिया बगानमा कार्यान्वयन गर्दै जाने र कोरोना भाइरसबाट बच्न सरकारले तोकेको मापदण्ड पूरा गरी सुरक्षाको व्यवस्था प्रतिष्ठानको तर्फबाट गर्ने, श्रमिकले पनि आफ्नो सजगता अपनाउने सहमति भएको उहाँले बताउँनुभयो । यता २० वर्षपछि नेपाली चियाको मूल्यमा वृद्धि भएको छ । भारत निकासी हुने चियाको मूल्यमा अहिले सय प्रतिशतसम्म रकम वृद्धि भएको छ । झापामा साना किसानसहित २८ वटा चिया उद्योग छन् । ती उद्योगमा ५० हजार बढी मजदुर कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्