मेगा बैंकको १८ लाख कित्ता शेयर लिलामीमा



काठमाडौं, (नेस)

मेगा बैंक नेपालले १८ लाख कित्ता शेयर लिलामीमा बिक्री गर्न गोप्य शिलबन्दी आह्वान गरेको छ । मेगा बैंकले संस्थापक समूहतर्फको ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता र सर्वसाधारण समूहतर्फको ७ लाख ७ हजार ३ सय ९४ दशमलव ९३ कित्ता गरी १८ लाख ४० हजार ७ सय ३९ दशमलव ६३ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गर्न लागेको हो ।

सर्वसाधारणले असोज १८ गतेभित्र आफूले खरिद गर्न चाहेको प्रतिकित्ता शेयर र दररेट खुलाई गोप्य शिलबन्दीमार्फत आवेदन दिन सक्नेछन् । त्यसका लागि न्यूनतम १ सय रुपियाँ र त्यसभन्दा बढी कतिमा शेयर खरिद गर्न चाहेको हो स्पष्ट खुलाई बोलकबोल आवेदन दिनुपर्ने मेगा बैंकले जनाएको छ ।

उपत्यकाभित्र मेगा बैंकको कमलादीस्थित मुख्य कार्यालय, नयाँ बानेश्वर चोक, ठमेल, न्यूरोड (पिपलबोट), ज्ञानेश्वर, चाबहिल, बौद्ध, कलंकी, गोंगबु, महाराजगन्ज, मैतीदेवी, जावलाखेल, पुरानो ठिमी र सूर्यविनायक शाखाबाट सर्वसाधारणले शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

यसैगरी काठमाडौं उपत्यकाबाहिर धनगढी, वीरेन्द्रनगर, नेपालगन्ज, तुल्सीपुर, भैरहवा, बुटवल, अर्घाखाँची, तम्घास, तानसेन, नारायणगढ, पोखराको सभागृह चोक र चिप्लेढुंगा, हेटौंडा, वीरगन्ज, सिन्धुली, जनकपुर, धरान, विराटनगर र विर्तामोड शाखाबाट शेयर खरिदका लागि आवेदन दिने व्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ ।

त्यसबाहेक अनलाइनबाट फारम लिई शेयर आवेदन गर्न इच्छुक आवेदनकर्ताले मेगा बैंक वा मेगा क्यापिटल मार्केटसबाट छाप प्रमाणित गरी आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्