विद्यालयमा घुम्ती शिक्षण सिकाइ



नेपाल समाचारपत्र, सर्लाही

हरिपुर नगरपालिकाले आइबारबाट नगरभित्रका विद्यालयमा घुम्ती शिक्षण सिकाइ शुरू गरेको छ । चैतदेखि कोभिड–१९ का कारण बन्द भएका सामुदायिक विद्यालयमा वैकल्पिक शिक्षाका लागि गाउँघर घुम्ती शिक्षण सिकाइ शुरू गरिएको हो ।

भौतिक दूरी कायम गराउँदै नगरभित्रका १५ वटा सामुदायिक विद्यालय र ७ वटा मदरसका विद्यार्थीलाई घुम्ती शिक्षण सिकाइ शुरू गरिएको हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय देवकोटाले बताउनुभयो ।

गाउँघर शिक्षण सिकाइअन्तर्गत सामुदायिक भवन, धर्मशाला, मन्दिर, मदरसामा राखेर विषयगत शिक्षकबाट घुम्ती शिक्षण सिकाइ शुरू गरिएको नगरपालिकाअन्तर्गत शिक्षा शाखाका प्रमुख नगेश्वर राय बताउनुहुन्छ ।

शिक्षा मन्त्रालयले जारी गरेको शिक्षा निर्देशिकाबमोजिम नै कोरोना भाइसर संक्रमणको उच्च जोखिमलाई सतर्कता अपनाउँदै शिक्षण सिकाइ गरिएको पाँचकुमार माविका प्रधानाध्यापक विनोद मिश्रको कथन छ । विद्यालयबाहिर घुम्ती शिक्षण सिकाइ शुरू गर्दा केही असहज भए पनि यसलाई निरन्तरता दिँदै जाँनुपर्ने अविभावकहरूको माग छ ।

कोरोना भाइसरको जोखिक अझै कायम रहेकाले विद्यालय आउँदा सबै विद्यार्थी र शिक्षकले अनिवार्य माक्स लगाउनुपर्ने र शिक्षण सिकाइस्थलमा साबुनपानीको व्यवस्था विद्यालयले मिलाउनुपर्ने शिक्षक कुमार दाहालको भनाइ छ । घुम्ती शिक्षण सिकाइअन्तर्गत एउटा समूहमा कम्तीमा २० देखि २५ जना विद्यार्थी राखेर पढाउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्