गगनचुम्बी चढ्ने स्पाइडर म्यान गिरफ्तार



पेरिस, (एजेन्सी)

साहसीका लागि अत्यन्त जोखिम हुनु अस्वाभाविक होइन। तर, पनि हदैसम्मको जोखिम मोल्ने कार्य भने राज्यले दिने छुट भित्र नपर्न पनि सक्छ। यस्तै, एक घटनामा फ्रान्सको प्रहरीले आफूलाई स्पाइडर म्यान ठान्ने एक व्यक्तिलाई गिरफ्तार गरेको छ।

विनाडोरी र अन्य कुनै प्रकारको सुरक्षा उपकरण नलगाई पेरिसको सबैभन्दा अग्लो भवन चढेर एक व्यक्तिले साहसिक काम गरेका थिए। आफूलाई स्पाइडर म्यान ठान्ने ती व्यक्तिको उक्त कृत्य ज्यानै जाने खालको थियो।

ती व्यक्ति चढिरहेको गगनचुम्बीको नाम टुर मोन्टपार्नेसे हो। त्यसको उचाइ करिब ६ सय ९० फिट बताइएको छ। उनले साँझको समय भवन चढ्न शुरू गरेका थिए। उनलाई राति ८ बजे प्रहरीले गिरफ्तार गरेको हो। त्यसका लागि एक उद्धारकर्मीले आफ्नो जीवन नै जोखिममा राखेर ती व्यक्तिसँग भवनमा झुन्डिनु परेको थियो।

उक्त गगनचुम्बी भवन पेरिसको सबैभन्दा अग्लो भए पनि आइफेल टावर जति अग्लो भने होइन। तर, त्यो शहरको एक मात्र अग्लो भवन हो। जब ती व्यक्ति भवनमा चढिरहेका थिए, त्यतिबेला कैयौंले उक्त डरलाग्दो कृत्यलाई क्यामरामा कैद गरी सामाजिक सञ्जालमा शेयर गरिरहेका थिए। उनको त्यो भिडियो भाइरल भएको छ। मानिसहरू ती व्यक्तिको तुलना सुपरहिरो स्पाइडर म्यानसँग गरिरहेका छन्।

यसअघि सन् २०१५ मा पनि एक व्यक्ति नेपालको झन्डा लिएर उक्त भवनमा चढेका थिए। नेपालमा त्यतिबेला आएको महाभूकम्प र त्यसमा मरेकाप्रति श्रद्धाञ्जली दिन चाहेको ती साहसिक व्यक्तिले बताएका थिए।

प्रतिक्रिया दिनुहोस्