राजनीतिबाट कृषिमा लागेका पूर्वमन्त्रीलाई प्रदेश रत्न पदक



नरेन्द्र केसी, दाङ

राजनीति छाडेर कृषिमा लागेका पूर्वपर्यटन तथा स्वास्थ्यमन्त्री लोकेन्द्र बिष्ट मगरलाई प्रदेश ५ सरकारले यो वर्षको प्रदेश रत्न पदकबाट विभूषित गर्ने निर्णय गरेको छ ।

संविधान दिवसको अवसरमा विभूषित गर्ने सूचीमा ५८ जनाको नाम समावेश गरेको प्रदेश ५ सरकारले प्रदेश रत्न पदक ‘क’ विष्टमगरलाई फलफूल खेतीमार्फत कृषि क्षेत्रमा नवप्रवद्र्धनात्मक कार्यमा महŒवपूर्ण योगदान गरेकोमा विभूषित गर्दै छ ।

प्रदेशभित्र नयाँ सिर्जनात्मक काम गर्नेलाई यो पदक दिने गरिएको छ । पूर्वमन्त्री भइसक्नुभएका बिष्ट दाङमा आएर ड्रागन फ्रूट खेती गरिरनुभएको छ । उहाँले ६६ कटठ जमिनमा भाडामा लिएर थालेको ड्रागन फ्रूट खेती प्रदेशकै शानका रुपमा स्थापित भइरहेको छ ।

दाङको बिजौरीस्थित घोराही–तुलसीपुर सडकको किनारामा जग्गा भाडामा लिएर उहाँले विगत दुई वर्षदेखि ड्रागन फ्रूटको खेती थाल्नुभएको छ । मुलुकमा परिवर्तन ल्याउन विद्यार्थी मोर्चादेखि जनयुद्धमा कमान्डर र शान्ति प्रक्रियापछि मन्त्रीसमेत बन्नुभएका बिष्ट अब कृषि कर्मबाटै सार्थक परिणाम निकाल्ने गरी कृषि साधनामा लागेको बताउनुहुन्छ ।

राजनीतिबाट बाहिरिएपछि उहाँले शुरुमा कालो धानको खेती गर्नुभएको थियो । दाङ र काभ्रेमा कालोधानको खेतीपछि उहाँ गत वर्षदेखि ड्रागन फ्रूटतर्फ लाग्नुभएको छ, यो वर्षदेखि ड्रागन प्रूmटको उत्पादन शुरु भइसकेको छ ।

‘राजनीति स्थायीरुपमा गर्ने काम पेसा होइन, यो एउटा कालखण्डसम्म गर्ने सेवा हो’, बिष्टको धारणा छ– ‘राजनीति समाज सेवा हो जुन निःस्वार्थ र निःशुल्क गरिन्छ, यो अझ व्यवसाय त हुँदैन होइन । राजनीतिमा लागेकाहरु पनि जनतासँग आएर काम गर्न सक्छन् भन्ने सन्देश दिन पनि म कृषि कर्ममा जुटेको हुँ।’

बिष्ट भन्नुहुन्छ– ‘पछिल्लो समयमा राजनीति फोहरी, महँगो र भ्रष्ट हुन थालेपछि मैले राजनीतिबाट संन्यास लिएको हुँ, मैले यहाँ पनि क्रान्ति नै गरिरहेको छु पेसा मात्र होइन ।’

यसले आधुनिक कृषितर्फ खोज अनुसन्धान गर्न पनि उत्प्रेरित गरोस् भनेर नै आफूले दाङमा नयाँ फलफूल खेती शुरु गरेर विदेश जाने युवाहरुलाई देशभित्रै केही गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेको बताउनुभयो । आफू यो खेतीमा सफल हुँदा धेरै किसानका लागि प्रेरणा हुने बिष्टको चाहना छ ।

‘एकातिर सबै राजनीति गर्नेहरुले बिगारे भन्ने जनतामा वितृष्णा छ भने अर्कोतिर बेरोजगारी व्याप्त छ, लाखौं युवा विदेशमा छन्, हामी राजनीति गरेकाहरु पनि जनताभन्दा अलग छैनौं, तपाईंहरु पनि देशभित्रै बसेर केही गर्नुस्, सम्भव छ भनेर देखाउने मेरो सपना हो।’ –उहाँको विश्वास छ ।

यसका लागि राज्यको सोच भने बदलिनुपर्ने उहाँको भनाइ छ । ‘राज्यले बजारको व्यवस्था गर्न सकेको छैन । यततर्फ राज्यको ध्यान नै छैन भन्दा पनि हुन्छ । उनीहरुले सुनेका त होलान् तर चासो छैन’, बिष्टले भन्नुभयो– ‘राज्यले ऋणको व्यवस्था गरिदिने हो भने कृषकलाई सजिलो हुने छ, अनुदान त झन टाढाकै कुरा भयो । अनुदान खानेले काम गर्दैनन् काम गर्नेले अनुदान पाउँदैनन् । यसमा सुधार नगरी कृषिलाई व्यावसायीकरण गर्न सकिँदैन ।’

प्रतिक्रिया दिनुहोस्