डा. केसी सात दिनदेखि अनशनमा, स्वास्थ्य अवस्था जटिल बन्दै



काठमाडौं, (नेस)

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा.गोविन्द केसी ७ दिन देखि जुम्लामा आमरण अनसनमा बस्नुभएको छ । यो उहाँको १९ औंपटकको अनशन हो ।

दुई बर्ष अघि नेपाल सरकारले डा.केसीसँग चिकित्सा शिक्षा सुधार गर्ने बचनबद्धताका साथ गरेको सम्झौता अहिलेसम्म कार्यान्वयन नगरेको भन्दै विषम परिस्थितिमा पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा समेत व्यवास्ता गरेका कारण पुनः आमरण अनसन बस्न बाध्य भएको उहाँले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उहाँ १२ बँुदे माग अघि सार्दै गत भाद्र २९ गतेदेखि जुम्लामा आमरणअनसन बस्नुभएको थियो । उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँको स्वास्थ्य परिक्षण गरिरहनुभएका चिकित्सकहरुले डा.केसीलाई तुरुन्त अस्पताल भनाए गरी उपचार शुरु नगरे जे पनि हुन सक्ने बताएका थिए । तर डा.केसीले भने आफु जनताका लागि मर्न तयार तर सरकारसँग माग पूरा नभएसम्म अस्पताल पनि नजाने र कुनै सम्झौता पनि नगर्ने भन्दै आउनुभएको थियो ।

शनिबार राति करिब पौने एघार बजे प्रहरीले डा. गोविन्द केसीलाई जबरजस्ती उठाएर अस्पताल पु¥एको थियो । १९औं सत्याग्रहको घोषणा गरेको सातौं दिन आईतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसियु कक्षमा डा. केसीलाई राखिएको छ । डा.केसीले भने माग पुरा नगर्न सरकारले अपहरण शैलीमा आफुलाई उठाएर अपताल लगेको बताउँदै आउँनुभएको छ ।

डा.केसीले कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले अपहरण गर्न लगाएको आरोप लगाउँदै भन्नुभयो– ‘उनीहरुलाई मेरो स्वास्थ्यको ख्याल लाग्छ भने हाम्रा मागहरु पुरा गरिदिए भयो नि ।’ उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा प्रदेश सरकारले दमन गरेको समेत आरोप लगाउनुभयो ।

प्रधानमन्त्री जनता प्रति उत्तरदायी भएको भए सम्झौतावमोजिमका मागहरु पहिले नै पुरा हुन्थे । मैले सत्याग्रह गरिरहनुपर्ने आवश्यकता थिएन भन्दै डा. केसीले स्वास्थ्य जाँच गर्न नमान्नुभएको अस्पताल स्रोतले जनाएको छ ।

रगतमा चिनीको मात्रा न्युन भई प्रमुख अंगहरुमा जटिल समस्या देखिनसक्ने उहाँको स्वास्थ्य जाँचमा खटिएका चिकित्सकहरुले सरकारलाई जानकारी गराउँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्