१ लाख २० हजार वर्ष पुरानो मानव पाइला भेटियो



रियाद (एजेन्सी) ।

उत्तरी सउदी अरेबिया स्थित एक पोखरी नजिकै मानवको एक लाख २० हजार बर्ष पुरानो पाइलाको पद चिन्ह प्राप्त भएको छ ।

उक्त प्राग पाइला होमो सेपियन्सको भएको र उनीहरु त्यतिबेला पानी र भोजन खोजीका क्रममा त्यहाँ रुकेको हुन सक्ने अनुमान गरिएको छ । उक्त पोखरीमा पानीका लागि ऊँट, भैँसी र हात्ती पनि आउने गर्थे । ती मानवले केही ठुला जीवको शिकार गरेको र केही समय पछि त्यहाँबाट हिँडेको हुन सक्ने शोधकर्ताहरुले अनुमान गरेका छन् ।

शोधकर्ताहरुको यो शोध साइन्स अडभान्स जर्नलमा प्रकाशित भएको हो । उक्त स्थानमा ऊँट, भैँसी र हात्तीका पाइका निसाना पनि प्राप्त भएको छ । साउदी अरेबियाको नेफुद मरुभुमीमा मानव पाइलाका यी निसाना प्राप्त भएको हो । यसबाट मानव पुर्वज कुन मार्गबाट अफ्रिकाबाट निस्केर विश्वको अन्य भागमा फैलिएको थियो भन्ने थाहा हुन्छ । उक्त मरुभुमी इलाकामा त्यतिबेला मानव तथा पशुलाई बस्न आवश्यक वातावरण थिएन ।

विगत १० बर्षको अध्ययनले त्यहाँको वातावरण सदासर्वदा एकनास थिएन । जलवायुमा आएको परिवर्तनका कारण यो ठाउँ धेरै हराभरा र समसितोष्ण बनेको थियो । यो इलाका घासले भरेको हराभरा मैदान र ताजा पानी तथा नदिहरुले सम्पन्न भएको विज्ञहरुले बताए । मानव पाइलाको यी निसाना अल्थार तलाउ नजिककै सन् २०१७ मा प्राप्त भएको थियो । मानव पाइलाका यी निसाना आफैमा अत्यन्त विशेष महत्व राख्छ । यसले पृथ्वीमा कसरी मानव फैलिएको हो थाहा पाउन मद्दत गर्दछ ।

त्यस इलाकामा सयौं पद चिह्न भेटिएको जसमा सात हामो सेपियन्सको भएको सोधकर्ताहरुले बताएका छन् । अनुसन्धानले तीन वा चारजनाको झुन्ड यात्रा गरिरहेको थाहा भएको छ । जब ती मानव त्यहाँ पुगे, त्यतिबेला कयौं ठुला जनावर पनि त्यहाँ रहेको देखिन्छ । यद्यपी त्यस क्षेत्रबाट कुनै पत्थर वा औजार भने प्राप्त भएको छैन । यसबाट ती मानव पानी कै लागि मात्र त्यहाँ पुगेको थाहा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्