कडा सुरक्षा व्यवस्था सहित नेकपा सचिवालय बैठक सुरू



काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरू भएको छ । पूर्वमाओवादी पार्टीको कार्यालय रहेको पेरिसडाँडामा आजको सचिवालय बैठक सुरू भएको हो । नेकपा कार्यालय रहेको पेरिसडाँडाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसअघि बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारीको भूमिका प्रदान गरे पनि निर्णय भने दुवै अध्यक्षको सहमतिका आधारमा मात्रै हुनेछ ।

स्थायी कमिटी बैठकले १ महिनाभित्र पार्टी एकताका काम सम्पन्न गर्ने निर्णय गरेको थियो। त्यस्तै नेकपाका विभाग र प्रतिष्ठानबारे अध्ययन गर्न सचिवालयले नै कार्यदल गठन गर्ने भनिएको छ।

मन्त्रिपरिषदको पुनर्गठनका विषयमा पनि आजको बैठकमा छलफल हुनसक्ने स्रोतले बतायो।

यसअघि स्थायी कमिटी बैठकले आवश्यकताका आधारमा मन्त्रिपरिषद पुनर्गठन गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद पुनर्गठन गर्दा कुन मापदण्डका आधारमा गर्ने भनेर सचिवालयमा छलफल हुने बताइएको छ।

यसअघि प्रायः सबै बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्थे।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पहिलोपटक पार्टी कार्यालय पेरिसडाडामा बस्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्