निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई तीन करोड



हेटौंडा, (नेस)

चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि बाग्मती प्रदेश सरकारले धुर्मुस–सुन्तली फाउन्डेसनलाई ३ करोड उपलब्ध गराउने भएको छ।
प्रदेश सरकारको ससर्त अनुदानका रूपमा आर्थिक वर्ष २०७७÷०७८ का लागि उक्त अनुदान रकम उपलब्ध गराउने निर्णय गरेको हो। कोभिड–१९ को संक्रमणको अवस्थामा पनि निरन्तर निर्माण जारी रहेको भन्दै काम सुचारु गर्न सहजताका लागि सहयोग गर्न लागिएको बाग्मती प्रदेशका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए।
जिल्लास्तरका स्थानीय तह, जिल्ला समन्वय समिति, प्रदेश सरकारले दिने भनेको रकम रंगशाला निर्माणका लागि नआएको गुनासो सुनिएका बेला प्रदेश सरकारले यस्तो निर्णय गरेको हो। सरकारी बोलकबोल गरिएको रकम अझै आएको छैन।
कोरोना कहरका बीच पनि रंगशालाको काम अटुटरूपमा चलिरहेको छ। कोरोना भाइरस संक्रमणको जोखिम भएपछि चैत ९ गतेबाट रोकिएको काम वैशाख २० गतेबाट पुनः सुचारु भएको थियो। त्यसयता काम रोकिएको छैन।
भँकम्पपछि थलिएका विभिन्न बस्ती पुनर्निर्माणमा चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले बहुउद्देश्यीय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको थियो। उक्त रंगशाला फाउन्डेसनले भरतपुर महानगरपालिकामा निर्माण जारी राखेको छ। शहीद दिवसका दिन रंगशाला निर्माणका लागि फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले हस्ताक्षर गरेका थिए।
त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको उक्त जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो। क्रिकेट रंगशाला बनाइने भएपछि त्रिभुवन विश्वविद्यालयले भरतपुर महानगरपालिकाको माध्यमबाट फाउन्डेसनलाई जग्गा उपलब्ध गराएको थियो। रंगशाला २० बिघा ८ कठ्ठा क्षेत्रफलमा बन्नेछ।
रंगशाला कमलको फँल आकारको हुनेछ। त्यसमा २५ हजार दर्शक अट्नेछन्। बहुउपयोगी हुने रंगशालाभित्र क्रिकेट प्रशिक्षण मैदान, फुटबल, भलिबल, बास्केटबल, ब्याड्मिन्टन, डन्डीबियो, स्वीमिङपुल र फिटनेस सेन्टरसम्म रहनेछन् । रंगशालाको बाहिरी भागमा नेपाल चिनाउने सम्पदाहरू समावेश गरिनेछ, जसमा एकसिंगे गैंडा, हात्ती, पाटेबाघलगायत जनावरको प्रतिमा राखिने भएको छ। साथै, नेपालका पर्यटकीयस्थल चिनाउने सामग्रीहरू पनि राखिने भनिएको छ। क्रिकेट खेलाडी उत्पादन गर्न एकेडेमी पनि रंगशालामा रहनेछ।

प्रतिक्रिया दिनुहोस्