प्रदेशकै पहिलो कालिज फर्म



कविराज नेपाल, पाल्पा

पछिल्लो समयमा फरक सोच राखेर उद्यमशीलता गर्न युवा सक्रिय भएका समाचार आइरहेका बेला पाल्पामा पनि ठूलो लगानीका साथ कृषिसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य लिएर व्यावसायिक कालिज फर्म खोलिएको छ ।

उक्त फर्म मासुका लागि भन्दा पनि चल्ला बिक्री गर्ने मुख्य लक्ष्य राखिएको र यो फार्म भविष्यमा रिसर्च सेन्टरका रुपमा समेत विकसित गर्ने तयारी रहेको फर्म सञ्चालकले बताएका छन् । व्यवसायीले यसलाई नयाँ सोच र विचारको रुपमा पनि लिएका छन् । जसलाई पाँच नम्बर प्रदेशकै पहिलो कालिज फर्म भनिएको छ । तानसेन नगरपालिका–५, ढुंगाखानीमा ‘शितोष्ण वाईल्ड लाइफ एन्ड एग्रो रिसर्च सेन्टर प्रालि’ को नाममा कालिज फर्म खोलिएको हो ।

सरकारले वन जंगलमा पाइने स्थानीय जातको कालिजको शिकार गर्न र पाल्नसमेत नपाइने भने पनि विदेशी जात र नश्लका कालिज प्रजातीलाई पाल्न अनुमति दिने गरेको छ । यसैअनुसार चिनियाँ रिङनेट जातको कालिज पालन शुरु गरिएको हो । अहिले फर्ममा २२ सय कालिज पालिएका छन् । कम्पनी रजिष्ट्रार कार्यालय काठमाडांै र जिल्लास्थित घरेलु कार्यालयमा दर्ता गरेर व्यवसाय सञ्चालनमा आएको हो । पाँच जना व्यवसायी मिलेर शुरुमा साढे दुई करोड लगानी गरी व्यवसाय सञ्चालनमा ल्याएको सञ्चालक सुरेन्द्र बस्यालले बताउनुभयो । सो टिममा तानसेन–७ का दयाराम पाण्डे, तानसेन–५ का रामप्रसाद श्रेष्ठ, मध्यबिन्दु नगरपालिका–१५ का कमल पाण्डे र तिलोत्तमा–५ मणिग्राम रुपन्देही निवासी मोती गौतम हुनुहुन्छ ।

एग्रो टुरिजम अर्थात कृषि र पर्यटन दुवैलाई सँगै लैजाने अवधारणा अनुरुप व्यवसाय सञ्चालनमा ल्याएको र स्थानीय रुपमा २४ रोपनी जग्गा किनेर व्यवसाय शुरु गरेको अध्यक्ष बस्यालले बताउनुभयो । सरकारबाट अनुमति प्राप्त अन्य जंगली जनावर र पशुपन्छीसमेत पाल्ने योजना रहेको अध्यक्ष बस्यालको भनाइ छ । ‘पर्यटकलाई लक्षित गरी गार्डेनसहितको रिर्सोट बनाउने योजना रहेको छ’ बस्यालले भन्नुभयो–‘मनोरञ्जन पार्क स्थापना गर्ने, व्यवस्थित रिसोर्ट सञ्चालनमा ल्याएर पर्यटकलाई फरक स्वाद चखाउने सोच राखेका छौं हेरौं परिस्थिति कस्तो हुन्छ ?’

उहाँका अनुसार बुटवल–भैरहवाको गर्मी छल्न चाहने पर्यटकलाई आकर्षित गर्ने र भविष्यमा फर्मलाई रिसर्च सेन्टरको रुपमा विकास गर्दै जंगल सफारीको समेत योजना छ । फर्मलाई रिसर्च सेन्टरको रुपमा विकास गर्ने, ह्याचरीको रुपमा सञ्चालन गरेर माघ–फागुनदेखि कालिजका अण्डा तथा चल्ला बिक्री गर्ने योजना रहेको बस्यालले बताउनुभयो । भाले कालिज मात्रै बिक्री गर्ने अध्यक्ष बस्यालको भनाइ छ ।

शुरुमा चीनाट २२ सय कालिजका चल्ला ल्याइएको र बिस्तारै ३५÷४० हजारसम्म कालिज पाल्ने लक्ष्य रहेको बस्यालले बताउनुभयो । वन्यजन्तु र अरु दुर्घटनाबाट जोगाउनका लागि कालिज पालनस्थल माथिबाट जालीले छोपेर कालिज राखिएको छ । कालिजलाई चिसो क्षेत्र चाहिने र चिसो स्थानमा कालिज व्यवसाय राम्रो हुने तथा उत्पादित कालिजको मासुको स्वादसमेत राम्रो हुने भएकाले विशेषज्ञबाट सल्लाह लिई चिसो ठाउँ खोजेर फार्म सञ्चालनमा ल्याइएको सुरेन्द्र बस्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्