सोमबारदेखि आन्तरिक उडान



नेपाल समाचारपत्र, काठमाडौं

छ महिनादेखि बन्द रहेको आन्तरिक हवाई उडान सोमबारदेखि नियमित सञ्चालन हुने भएकोे छ । उडान शुरू गर्नका लागि वायुसेवा कम्पनीहरू बुद्ध एयर, यती एयरलाइन्स, श्रीएयरलाइन्सलगायतले बुकिङ खुल्ला गरिसकेका छन् । बुकिङ खुलाएको दुई दिनमै आधाभन्दा बढी टिकट बिक्री भइसकेको वायुसेवा कम्पनीहरूको दाबी छ । बजारको आवश्यकताका आधारमा उडान संख्या बढाउने वायुसेवा कम्पनीहरूले जनाएका छन् ।

सरकारले तोकेको हवाई भाडादरमै आन्तरिक उडानका वायुसेवा कम्पनीले सेवा सञ्चालन गर्ने वायुसेवा संघको भनाइ छ । सरकारले शुरुको एक साता आन्तरिक उडानका एयरलाइन्सलाई २५ प्रतिशतमात्र उडान अनुमति दिएको छ । एयरलाइन्सले जहाजमा पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि हवाईभाडा पनि नबढ्ने भएको हो ।

सरकारले सिट संख्याको ५० प्रतिशतमात्रै यात्रु बोक्ने गरी असोज १ गतेदेखि नै आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरे पनि वायुसेवा सञ्चालकले पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने अडान लिएकाले पूर्वनिधारित मितिमा आन्तरिक उडान हुन सकेको थिएन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानका जहाजले शत्प्रतिशत यात्रु बोक्न पाउने निर्णय गरेपछि एयरलाइन्स कम्पनी ५ असोजदेखि उडान सञ्चालन गर्न सहमत भएका हुन् ।

अन्तर्राष्ट्रिय उडान भने भदौ १६ गतेदेखि सञ्चालनमा छ । वायुसेवा सञ्चालक संघले मन्त्रालय र नियामक निकायको निर्देशन पूर्ण पालना गर्दै कोभिड रोकथाम तथा जोखिम न्यूनीकरण गर्ने कार्यमा सबै वायुसेवाको पूर्ण सहयोग रहने जनाएको छ । वायुसेवा कम्पनीहरूले स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्दै सुरक्षित उडान सुनिश्चितताका लागि नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्डलाई आत्मसात गरी यात्रुको सुरक्षाका लागि आवश्यक प्रक्रिया अपनाएर सेवा सञ्चालन गर्ने प्रथिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्