कोरोनाबाट चार अर्ब जनसंख्या संक्रमित हुन सक्ने चिनियाँ विज्ञको चेतावनी



बेइजिङ, (एजेन्सी)
चीनका श्वास प्रश्वाससम्बन्धी रोगका एक चर्चित विशेषज्ञ झोङ नानसानले कोरोना भाइरस संक्रमण महामारी रोक्न आवश्यक पहल नभए विश्वको कुल जनसंख्याको ६० देखि ७० प्रतिशत यसको चपेटामा आउने चेतावनी दिएका छन्।
कोरोना संक्रमण नियन्त्रणमा पर्याप्त ध्यान नपुगेको संकेत गर्दै विज्ञ झोङले करिब चार अर्ब नागरिक संक्रमित हुने बताएका हुन्। यसमा ६ दशमलव ९५ प्रतिशत संक्रमितको कोरोना महामारीबाटै मृत्यु हुनेछ। महामारी रोक्न विश्वव्यापी व्यापकस्तरमा खोप लगाउनु आवश्यक भएको झोङले बताए।
एक अनलाइन सम्बोधनमा डाक्टर झोङले हर्ड इम्युनिटी व्यापकस्तरको खोप अभियानबाट हासिल गर्नुपर्ने सुझाव दिएका छन् । कोरोना भाइरस महामारी यो वर्षको जाडो र अर्को वर्षको वसन्त ऋतुसम्म जारी रहन सक्ने उनले बताएका छन्।
विश्वव्यापी सामूहिक खोप दिने अभियानमा एकदेखि दुई वर्षसम्म लाग्ने र यसमा विश्वकै सहयोगको आवश्यक हुने डाक्टर झोङले बताए। यसबीच कोरोना भाइरसमा आइएको ताजा परिवर्तनले शोधमा कुनै असर नपरेको चीनका अर्का कोरोना खोपका शोधकर्ता चेन वेइले बताए। चीनले चाँडै नै ५५ वर्षभन्दा माथि उमेर समूहका लागि खोपको क्लिनिकल ट्रायल शुरू गर्ने उनले जानकारी दिए।
विश्वभरि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड नाघेपछि चिनियाँ विशेषज्ञको उक्त चेतावनी आएको हो। हालसम्म विश्वभरि यस महामारीबाट मर्नेको संख्या साढे ९ लाख नाघेको छ। कोरोनासँग लड्न विश्वभरि नै वैज्ञानिकहरू तीव्रताका साथ खोप बनाउनमा लागेका छन्। चीनको चाइना नेसनल बायोटेक ग्रुपले आफ्नो कोरोना भाइरस खोप सुरक्षित र प्रभावित भएको बताएको छ ।
कम्पनीले जारी गरेको एक बयानमा हालसम्म ज–जसलाई उक्त खोप दिइएको छ, उनीहरूमध्ये कसैमा पनि कुनै प्रकारको साइड इफेक्ट नदेखिएको जनाएको छ। कम्पनीले आफ्नो बिच्याट अकाउन्टमा हालसम्म यस खोपको डोज करिब १ लाखमा दिइसकेको उल्लेख गरेको छ। चीनले तत्काल उपयोगका लागि कोरोना भाइरसको तीन खोपलाई अनुमति दिइसकेको छ। यसमा दुई चाइना नेसनल बायोटेक समूह (सीएनबीजी)ले विकसित गरेको हो। खोपको खुराक सबैभन्दा पहिला संक्रमणको चपेटामा आउने सम्भावना उच्च रहेका मेडिकल स्टाफ, राजनीतिज्ञलाई दिइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्