घुम्थाङ पहिरोपीडितलाई जस्तापाता



सिन्धुपाल्चोक, (नेस)
घुम्थाङ पहिरोमा घर क्षति भएका परिवारलाई नेकपा निकट राष्ट्रिय युवा संघले अस्थायी संरचना निर्माणका लागी जस्तापाता दिने भएको छ ।

शनिबार पीडित प्रभावितका लागि खाद्यान्न राहत बोकेर घुम्थाङ क्षेत्र आइपुगेको युवा संघ केन्द्रीय नेतृत्वले घर क्षति भएका पहिरो पीडितलाई जस्तापाता ल्याई अस्थायी संरचना ठड्याइदिने उद्घोष गरेको हो ।

‘जो जसको घर क्षति भएको छ उहाँहरुका लागि तत्काल अस्थायी बासस्थान निर्माणमा हामी सघाउ गर्छौं’, युवा संघका संयोजक रामप्रसाद सापकोटाले भन्नुभयो– ‘स्थानीय सरकारसँग समन्वय गरी हामी आवश्यक जस्तापाता उपलब्ध गराउनेछौं ।’

घुम्थाङ पहिरोका पीडित तथा प्रभावितलाई युवा संघले राहत सहयोग प्रदान गरेको छ । शनिबार पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री लिएर आएको राष्ट्रिय युवा संघको केन्द्रीय नेतृत्वले राहतस्वरुप अत्यावश्यक खाद्यान्न प्रदान गरेको हो ।

संघका संयोजक रामप्रसाद सापकोटाको नेतृत्वमा दाल, चामल, नुनतेललगायतका राहत सामग्री ल्याएर पीडित प्रभावितलाई प्रदान गरिएको हो । बाह्रबिसे नगरपालिकासँग समन्वय गर्दै पहिरो प्रभावितका अस्थायी आवासमा राहत पु¥याइएको युवा संघका केन्द्रीय सदस्य बच्चनबहादुर सिंहले बताउनुभयो ।

युवा संघले बाह्रबिसेलाई विपत् पर्दा निरन्तर राहत सहयोग गर्दै आएको भन्दै बाह्रबिसे नगरपालिकाकी उपमेयर सुुशीला पाख्रिनले युवा संघको नेतृत्वलाई धन्यवाद व्यक्त गर्नुभयो । यसअघि जम्बु बाढीमा युवा संघको जिल्ला नेतृत्वले आर्थिक सहयोगसँगै कठिन अवस्थामा राहत सामग्री पीडितसम्म पु¥याएको स्मरण गर्नुभयो ।

‘युवा संघ हाम्रो दुःखमा सँगसँगै छ, बाढी पहिरो पीडित जनताका तर्फबाट धन्यवाद दिन चाहन्छु।’ –उपमेयर पाख्रिनले भन्नुभयो । पहिरो पीडितका लागि राहत वितरणका क्रममा नेकपाका नेता सरल सहयात्री, युवा संघका केन्द्रीय तथा जिल्ला तहका नेताहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्