‘पहिरोपीडितलाई स्थानान्तरण आवश्यक’



चिरञ्जीवी मास्के, दोलखा
दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ वनदेथलीका दाजु–भाइ रामकुमार र धनकुमार थामी अनिँदो भएको धेरै दिन भयोे । गत साउन २० गतेको पहिरोले घर जोखिममा परेपछि उनीहरु पानी पर्नासाथ ९० नाघेको आमालाई कता सार्नुपर्ने हो भन्ने चिन्ताले अनिँदो रहन्छन् ।
‘अहिले पनि पानी परेपछि पहिरो खसिरहन्छ त्यसैले राति राम्रोसँग सुत्नै पाइँदैन।’ –रामकुमारले गुनासो गर्दै भने । आफूहरुको अन्यत्र जग्गा नभएकाले पनि बाध्य भएर जोखिममै बस्नुपरेको धनकुमार बताउँछन् ।
लापिलाङको रानीवनबाट खसेको पहिरोले घट्टे खोलामा पानी थुनिएर भल पस्दा वडा नम्बर ५ को सिलाफारे, पतेलीसिम, देउपुरे थली, काँडाबारी, बुचेको मैदान, भीमसेन थान, मिजार टोललगायतका झन्डै दुई सय घर उच्च जोखिममा रहेको स्थानीय धनवीर थामीले बताए । साउन २० गतेको पहिरोले आठ घर पुरेको र २० घर बस्नै नहुने अवस्थामा रहेको धनवीरको भनाइ छ ।
शुक्रबार पहिरोले उच्च जोखिममा रहेको मैदानलगायतको बस्तीमा पुगेका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले पहिरोले उच्च जोखिममा परेका बस्तीलाई सुरक्षित ठाउँमा एकीकृत बस्ती निर्माण गरी स्थानान्तरण गर्न सरकारले सहयोग गर्ने बताए । त्यसका लागि सुरक्षित स्थानको खोजी गर्न मन्त्री गुरुङले गाउँपालिका अध्यक्ष विनकुमार थामी र उपाध्यक्ष कालिका पाठकलाई निर्देशनसमेत दिए ।
पहिरोले बस्ती उच्च जोखिममा परेपछि मैदानका झन्डै २० घर परिवार नजिकै बारीमा टहरा हालेर बसेका छन् । बालबच्चासहित टहरामा बसेकी उत्तममाया थामी बारीमा टहरा हालेर बस्दा चिसो र दिनदिनै पर्ने पानीले बालबच्चाको बिचल्ली भएको बताउँछिन् । सरकारले सुरक्षित स्थानमा बस्ने व्यवस्था नगरे आफूहरु हरेक वर्ष बर्षायाममा अनिँदो बस्नुपर्ने उत्तममाया बताउँछिन् ।
कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले लापिलाङ वडा नम्बर ५ मैदानलगायतका २६ घर पहिरोले पूर्ण क्षति भएको र १ सय ४७ घर उच्च जोखिममा रहेकोले स्थानान्तरण गर्नुपर्ने बताए ।
शुक्रबार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङसँगै पूर्व पर्यटन मन्त्री एवं नेकपाका नेता आनन्दप्रसाद पोखरेल, प्रदेश सांसद एवं नेकपा नेता पशुपति चौलागाईं, नेकपा दोलखाका अध्यक्ष एवं तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, पूर्व जिविस उपसभापति शिवप्रसाद भण्डारी, प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीलगायत पहिरोको जोखिममा रहेको बस्तीको स्थलगत अवलोकनमा पुगेका थिए । सो अवसरमा मन्त्री गुरुङले पहिरो पीडितलाई खाद्यान्न सामग्रीसमेत वितरण गरेका थिए ।
लापिलाङका पहिरो पीडितहरुलाई गाउँपालिकालगायत केही संघसंस्था र व्यक्तिले जस्ता, त्रिपालजस्ता सामग्री वितरण गरेको छ । तत्कालका लागि पालिकालगायतका संघसंस्थाले वितरण गरेको राहत सामग्री उपयोगी रहेको भए पनि पहिरोले घर पुरेको स्थान र घर नपुरे पनि उच्च जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा पहिरो नियन्त्रण महŒवपूर्ण हुने भएकाले त्यसका लागि पहल गर्न पीडितहरुले मन्त्री गुरुङसँग आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्