मध्यपहाडी लोकमार्गको सहस्रधारामा निरन्तर पहिरो, दैनिक घण्टौ रोकिन्छन सवारी साधन



दुर्गाप्रसाद शर्मा,पर्वत ।

एक साता देखि दैनिक भारी बर्षा भैरहेको छ । बर्षा भएपछि मध्यपहाडी लोकमार्गको पर्वत– बागलुङ सडक पनि दैनिक बन्द हुन्छ ।
पर्वतको कुस्मा नगरपालिका १ सहस्रधारामा निरन्तर पहिरो झर्ने क्रम नरोकिएपछि दैनिक रुपमा सडक अबरुद्ध हुँदै आएको छ ।

कुस्मा नगरपालिका वडा नं १ पाङ जोड्नका लागि सहसधारा –पाङ सडक निर्माण गरिएपछि सहस्रधाराका बिभिन्न ठाउँमा पहिरो खसेको छ । गत असार २८ गते सडकको ठुलो भूभाग खसेपछि सहस्रधारामा पहिरोले सडक अबरुद्ध भएको थियो भने पछिल्लो समय सडकको शुरुवात भएकै ठाउँमा पहिरो गएपछि दैनिक रुपमा यातयात अबरुद्ध हुँदै आएको छ ।

सडक अबरुद्ध हुँदा यातयातका साधन घण्टौ रोकिने गरेका छन । अहिले लामो दुरीका सवारी साधन खुलेपछि यात्रुको चाप बढेपनि अबरुद्ध हुँदा त्यसले यातयात ब्यबसायी र यात्रु नराम्रो संग प्रभावित हुन पुगेका छन । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार सहस्रधारामा ठुलो पहिरो खसिरहेको छ ।

शुरुमा ढुंगा खसेपनि पछिल्ला दिनहरुमा लेदो समेत बगेका कारण झनै समस्या भएको छ । शनिबार बिहान पनि खसेको पहिरो हटाएर बिहान १० बजेपछि यातयात सुचारु गरिएको थियो । शुक्रबार पनि सडक अबरुद्ध नै भएको थियो पानी पर्न रोकिएपछि सडक खुलाउने काम भएको थियो । ‘दैनिक रुपमा सडक अबरुद्ध हुँदा समस्या भएको छ।’ जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले भन्नुभयो‘बर्षात नरोकिए सम्म सडक अबरुद्ध हुने समस्या नहट्ने देखियो।’ बर्षा नरोकिँदा निरन्तर पहिरो बग्ने गरेका कारण डोजर चलाउन समेत कठिन हुने गरेको छ ।

गएको भदौ २८ गते पछि निरन्तर पहिरो खसेको छ । त्यस बखत तीन पछि मात्रै अबरुद्ध सडक सुचारु भएको थियो । सडक खुलाउनका लागि दुई वटा स्काभेटर तयारी अबस्थामा राखिएको छ । दैनिक ४, ५ घण्टा स्काभेटर चलाएर सडक खुलाउँदा सडक निर्माणको जिम्मा लिएको लामा कन्ट्रक्सनले पनि थप आर्थिक भार बेहोर्न बाध्य छ ।

लामा कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर गोबिन्द भुसालका अनुसार डोजर परिचालनमा दैनिक ५ हजार खर्च भैरहेको छ भने सडकमा खाल्डाखुल्डी पुर्ने काम पनि गर्न कठिन भएको छ । भएका स्काभेटर त्यही पहिरो हटाउन प्रयोग हुँदा अन्य काम पनि प्रभावित हुँदै आएको भुसाल बताउनुहुन्छ । पहिरो हटाउनका लागि प्रयोग हुने इन्धन र खर्च कम्पनीको थप खर्च हो जुन उसले लोकमार्ग आयोजना कार्यालयबाट समेत पाउँदैन ।

मुख्य राजमार्गबाट जथाभावी रुपमा शाखा सडकहरु निर्माण हुँदा जताततै राजमार्ग ध्वस्त बनाउने काम भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आषिश थापा मगर बताउनुहुन्छ । ‘शाखा सडक खन्दा मुख्य राजमार्गमा असर नपर्ने गरि खन्नुपर्ने हुन्छ।’ उहाँले भन्नुभयो ‘बर्षेनी शाखा सडकबाट आउने पहिरो र लेदोका कारण राजमार्गमा पहिरो र मर्मत गर्न समस्या हुने गरेको छ ।’ सहस्रधारामा पनि शाखा सडकबाटै पहिरो आएका कारण समस्या भएको उहाँको भनाई छ । यस पटक बर्षा याम सकिएपछि पहिरो रोकमाथामका लागि आवश्यक प्रकृया थालिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्