अधिकारीको ʿदशैं आइसक्यो,तिहार आइसक्योʾबजारमा



 टंकराज अधिकारी,पोखरा ।

“ दशै आइसक्यो तिहार आइसक्यो
ख़ुशी हुनुपर्ने यो मन पिरले खाईसक्यो”
“चाडबाड आउदा शहर बजार खाली हुने थिएन
यसपाली त कोरोनाले खुशी हुन दिएन “

बहु प्रतिभाकी धनी सरिता अधिकारीको हालै बजारमा आएको दशै विशेष गीत ʿदशैं आइसक्यो तिहार आइसक्योʾ गीतको टुक्का हो यो ।
गीत संगीतको माहौल पोहोर जस्तो छैन तर बजारमा गीत संगीत सार्बजनिक हुने क्रम रोकिएको छैन । अहिले चाडबाड मनाउने माहोल पनि छैन, तीज त खल्लो भैसक्यो, सायद दशैं तिहार पनि त्यस्तै हुने देखिएको छ ।

यो वर्षका चाडबाड यसै खल्लो हुने होलान भन्दै सरिता अधिकारी र इश्वर सिंहको आवाजमा रहेको यो गीतमा बर्तमान समयको वास्तविकतालाई यसरी प्रस्तुत गरिएको छ,

“न आकाशमा जहाज उड़छ नत गुडछ गाड़ी
महामारी मै थपियो झन् पहिरो र बाढी ।
पोहोर थियो चर्खे पिङ लिङगे पिङ अग्लो
यस पाली त केहि नि छैन क्यारी मेटने झल्को ।।”

कोरोनाका कारण विदेशमा नै नेपाली दाजुभाइ रोकिनु परेको अवस्थालाई चित्रण गर्दै भनिएको छ,

“परदेशी त परदेश मै भए अलपत्र
घर सम्झेर आउछु भन्ने थिए सपना कत्रा ।
घरमा गरौ दूर्गा पूजा देवी देउता पूजौ
बाँच्न पाँए नाचदै रहौला भन्ने सबले बुझौ ।।

काँस जस्तै केश फुलेका बाबा आमा घर्मा
यस पाली नि भेटन पाँईन परदेशीको कर्मा ।
मखमलि फ़ुलको माला सप्तरंगी टीका
तिहार पनि हुने भयो दशै कै झै फिका ।।

चाडबाड आए नि यसपाली त छैन मनमा हर्ष
लिङगे पिङ देउसी भैलो खेलौला अर्कों बर्ष ।

डिजिटल स्टार प्रालीको युट्युब मार्फत सार्बजनिक भएको उक्त गीत को शब्द र संगीत स्वयम् गायिका सरिता अधिकारीको छ । डिजिटल स्टार रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको छायाङ्कन गणेश सापकोटाको छ भने सम्पादन समिर रामदामको छ । गीतको एरेन्ज अनि निर्देशन तारानाथ आचार्यले गर्नुभएको छ ।

प्रतिभाशाली व्यक्तिलाई कुनै बाधा अड़चनले छेकदैन भन्ने दरिलो उदाहरण बन्नु भएको छ, सरिता अधिकारी । जन्मदै गुमेको आँखाको ज्योती उहाँका लागि बाधा मात्र नभै उत्प्रेरणा सावित भएको छ । एस।एल।सी।मा राम्रो अंक सहित विशिष्ट श्रेणीमा उत्तिर्ण अधिकारीले सानै उमेंरमा थुप्रै राष्ट्रिय बाल पुरस्कार हात पार्नुभएको छ ।

गायन र पढ़ाईलाई सँगसँगै अघि बढाएकी २२ वर्षीय सरिताले म्यूजिकमा स्नातक उत्तिर्ण गरिसक्नुभएको छ । प्राज्ञिक र सांगीतिक क्षेत्रमा प्रशस्त सम्भावना बोक्नभएकी उहाँले चर्चित साहित्यकार नवराज लम्साल, बिष्णुबाबु देवकोटा, टेकनारायन चापागाईका शब्द संकलनका गीत गाइसक्नुभएको छ ।

राष्ट्रिय, लोक, आधुनिक, भजनका तीन दर्जन गीत गाईसक्नुभएकी उहाँले प्रमोद खरेल, ईश्वर सिंह, ओम ज्ञवाली लगायतसँग सँगसँगै गीत गाउनुभएको छ ।सरिता अधिकारीको यस भन्दा अघि कोही छैन शहरमा, बा आमाको गल्तिले (सडक बालबालिका लागि), कस्ले फेरि देला मेरो फाटेको जामा (बालगीत, राष्टिय बाल दिबसमा प्रथम २०६९), सीप सिकौ कुनैबेला जिन्दगीमा काम लाग्छ, काँडा बीच हास्ने फूल होकी जीवन (रेडियो नेपालद्वारा आयोजना गरेको आधुनिक गीत प्रतियोगिता २०७० मा तृतीय पुरस्कार प्राप्त) जस्ता गीत बजारमा आइसकेका छन् ।

उहाँका सिमलको भुवा झै उड्ने होकी मन, साथ देउ भन्दिन म, मेरो प्यारो ढिकुरपोखरी (जन्म ठाउँको गीत), कलकल बग्ने सेती तिरमा प्रकृतिको घर, दरौं खोला, चिलाउने बाँस, लोक गीत, प्रदेशीको चिनो, राधाकृष्ण जयजय (भजन), राष्ट्रिय गीत राष्ट्रिय झण्डा उचाली सहितका तिन दर्जन बढी गीत आइसकेका छन् । विभिन्न प्रतियोगितामा भाग लिई पुरस्कृत बनिसक्नुभएकी अधिकारी २०६४ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरिसक्नुभएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

प्रतिक्रिया दिनुहोस्