पाठ्यक्रममा संविधान समावेश गर्न माग



न्युज अफ नेपाल,हेटौंडा ।

नेपाली जनताको सात दशक लामो संघर्षको ऐतिहासिक उपलब्धिका रुपमा समानुपातिक समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधानसभाबाट २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको ५ वर्ष पूरा भएको अवसरमा संविधानसभा सदस्य परिषद्, नेपाल अध्यक्ष अनन्त पौडेलले स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपालीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले जनतामा निहीत सार्वभौमसत्ता,प्रत्याभूत गरिएका मौलिक हकहरु,तीन तहको राज्य पुनर्संंरचना र समाजवादउन्मुख आर्थिक कार्यदिशा संविधानको मूल विशेषता रहेको भन्दै यसको जगमा उभिएर राष्ट्रियताको प्रवद्र्धन, राजनीतिक स्थिरता, सुशासन र आर्थिक सम्बृद्धि हासिल गर्ने दिशामा अघि बढ्न सक्दामात्र संविधान कार्यान्वयनले मूर्त आकार ग्रहण गर्ने बताउनुभएको छ ।

विज्ञप्तिमार्फत् उहाँले ‘संविधान कार्यान्वयनमा देखापर्ने जटिलतालाई राजनीतिक दलहरुले संविधानवादमा आधारित भएर हल गर्न सकारात्मक भूमिका निर्वाह गर्नु आवश्यक छ’ भन्दै राजनीतिक समस्या व्यबस्थापन गर्ने क्रममा संवैधानिक प्रक्रिया र मर्मलाई नजरअन्दाज गर्न खोजियो भने संविधान एउटा अमूर्त दस्तावेजमा परिणत हुने र मुलुक संवैधानिक अराजकतातर्फ उन्मुख हुनसक्ने परिस्थितिप्रति सचेत गराउनुभएको छ ।

‘संविधानसभा सदस्य परिषद् नेपालले आउँदै आएको संविधानसभा संग्रहालय निर्माण तथा कक्षा–९ देखि १२ सम्मका पाठ्यक्रममा नेपालको संविधानको आधारभुत विषय समावेश गर्ने मागप्रति संघीय संसद् र नेपाल सरकारको ध्यानाकर्षण गराउँदैछु,’ उल्लेख गरिएको विज्ञप्तिमा नेपालको संविधान निर्माणका क्रममा आफ्ना महत्वपूर्ण भूमिका निर्वाह गरेका दिवंगत सभासदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्