कोरोनाबाट ४ अर्ब आवादी संक्रमित हुने चिनियाँ विज्ञको चेतावनी



बेइजिंग (एजेन्सी) ।

चीनका स्वास प्रस्वास सम्बन्धी रोगका एक चर्चित विशेषज्ञ झोंग नानसानले कोरोना भाइरस संक्रमण महामारी रोक्न आवश्यक पहल नभए विश्वको कुल आवादीको ६० देखि ७० प्रतिशत यसको चपेटामा आउने चेतावनी दिएका छन् ।

कोरोना संक्रमण नियन्त्रणमा पर्याप्त ध्यान नपुगेको संकेत गर्दै विज्ञ झोंगले करिब ४ अर्ब नागरिक संक्रमित हुने बताएका हुन् । यसमा ६ दशमलव ९५ प्रतिशत संक्रमितको कोरोना महामारीबाटै मृत्यु हुने छ । महामारी रोक्न विश्वब्यापी ब्यापक स्तरमा खोप लगाउनु आवश्यक भएको झोंगले बताए ।

एक अनलाईन सम्बोधनमा डाक्टर झोगले हर्ड इम्युनिटी ब्यापक स्तरको खोप अभियानबाट हासिल गर्नु पर्ने सुझाव दिए । कोरोना भाइरस महामारी यो बर्षको जाडो र अर्को बर्षको बसन्त ऋतुसम्म जारी रहन सक्ने उनले बताए ।

विश्वब्यापी सामुहिक खोप दिने अभियानमा एक देखि दुई बर्ष लाग्ने र यसमा वैश्विक सहयोगको आवश्यक हुने डाक्टर झांगले बताए । यसबीच कोरोना भाइरसमा आइएको ताजा परिवर्तनले शोधमा कुनै असर नपरेको चीनका अर्को कोरोना खोपका शोधकर्ता चेन वेइले बताए । चीनले चाँदै नै ५५ बर्ष भन्दा बढी उमेर समुहमा खोपको क्लिनिकल ट्रायल शुरु गर्ने उनले जानकारी दिए ।

विश्वभरी कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड नाघेपछि चिनियाँ विशेषज्ञको उक्त चेतावनी आएको हो । अहिलेसम्म विश्वभरी यस महामारीबाट मर्नेको संख्या साढे ९ लाख नाघेको छ । कोरोनासँग लड्न विश्वभरी नै वैज्ञानिकहरु तिब्रताका साथ खोप बनाउनमा लागेका छन् । चीनको चाइना नेसनल बायोटेक ग्रुपले आफ्नो कोरोना भाइरस खोप सुरक्षित र प्रभावित भएको बताएको छ ।

कम्पनीले जारी गरेको एक बयानमा अहिलेसम्म जजस्लाई उक्त खोप दिइएको हो उनीहरुमध्य कसैमा पनि कुनै प्रकारको साइड इफेक्ट नदेखिएको जनाएको छ । कम्पनीले आफनो विच्याट अकाउन्टमा अहिलेसम्म यस खोपको डोज करिब १ लाखमा दिइसकेको उल्लेख गरेको छ । चीनले तत्काल उपयोगका लागि कोरोना भाइरसको तीन खोपलाई अनुमति दिइसकेको छ । यसमा दुई चाइना नेसनल बायोटेक समुह (सीएनबीजी)ले विकसित गरेको हो । खोपको खुराक सबैभन्दा पहिला संक्रमणको चेपेटामा आउने सम्भावनामा उच्च जोखिम समुह मेडिकल स्टाफ, राजनितिज्ञहरुलाई दिइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्