संविधान दिवसमा ३५५ घर उपहार



न्युज अफ नेपाल, हेटौंडा ।

नेपाली नागरिकका भविष्यका रंगीन सपनाहरु सँगालिएको ऐतिहासिक दिनको स्मरणमा अतिसीमान्तकृत नागरिकले आफ्ना अभिभावकबाट रंगीन जस्तापाताले लहरै बनेका घरहरु उपहार पाएका छन् ।

अतिसीमान्तकृत मुुसहरको मुहारमा जसरी नै सिन्धुलीको त्यो नमुना बस्ती पनि शुक्रबारदेखि उज्यालिएको हो । करिब दुई वर्षअघि बनाउन सुरु गरिएको लहरै बनेका घरहरुले मुुसहरको नमुना बस्ती यतिखेर उज्यालिएको छ । हुरीबतास, आगलागी र सर्पको त्रास खेप्दै आएका मुसहर समुदायलाई ती दुई कोठे पक्की घरले खुशी दिएको छ ।

बागमती प्रदेश सरकारले आवासविहीन मुसहरसहित दलित जातिका लागि सिन्धुलीको दुधौलीमा निर्माण गरेको तीन सय ५५ घर उपहारस्वरुप हस्तान्तरण गरिएको छ ।

प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत् अतिसीमान्तकृत समुदाय मुसहरका लागि एकीकृत बस्ती निर्माण गरेको हो ।
लाभग्राहीलाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले घरको साँचो हस्तान्तरण गनुृभएको हो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनता आवास कार्यक्रमअन्तर्गत् निर्माण गरेका घरहरु प्रदेशका मुख्यमन्त्री पौडेलले मुसहरलाई हस्तान्तरण गर्नुभएको थियो ।

वस्ती निर्माणपछि हौसिनुभएका प्रदेशका मुख्यमन्त्री पौडेलले भन्नुभयो–अब खुला आकाशमुनि र भोकै बस्नुपर्ने दिन गए । कोही घरविहीन हुँदैनन् । शौचालय र खानेपानी यही वर्ष उपलब्ध गराइने मुख्यमन्त्री पौडेलले प्रतिवद्धता जनाउनुभयो ।

बस्ती निर्माणका लागि सरकारले सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर–७ र ९ मा दुई करोड बजेट विनियोजन गरेको थियो । निर्माण गरिएका घरहरु संविधान दिवसका अवसरमा हस्तान्तरण गरिएको हो ।

प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत् मुसहरसहित अतिसीमान्तकृत समुदाय माझी तथा चेपाङका लागिसमेत एकीकृत बस्ती निर्माण गरेको मन्त्री रामेश्वर फुँयालले बताउनुभयो ।

दुधौली नगरका मेयर घनश्याम राउत र भवन निर्माण गर्ने शहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुलीका प्रमुख दुर्गाप्रसाद घिमिरेले मुुसहरको नमुना बस्ती उज्यालिएको देख्दा निकै खुशी मिलेको बताउनुभयो ।

मुसहर समुदायका सात सय ५० घर निर्माण गर्ने लक्ष्य रहेकोमा पहिलो चरणमा तीन सय ५५ घर निर्माण सम्पन्नपछि सम्बन्धित परिवारलाई साँचो हस्तान्तरण गरिएको उहाँहरुले बताउनुभयो ।

हुरीबतास, आगलागी र सर्पको त्रास खेप्दै आएका सिन्धुलीको दुधौली नगरपालिकाका मुसहर समुदायका व्यक्ति दुई कोठे पक्की नयाँ घरमा बस्न पाएपछि खुशी भएका छन् ।

उज्यालो अनुहारसहित स्थानीय श्रद्धा मुसहरले भन्नुभयो–हुरीबतास, आगो र सर्पको त्रासबाट बल्ल मुक्ति पायौं । सरकारले गौरवका योजनामध्ये बस्ती विकास कार्यक्रम पनि राखेको छ ।

प्रदेश सरकारले दोलखाको भीमेश्वर–४ मा एकीकृत बस्ती विकास कार्यक्रमका लागि दुई करोड, मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ र १२ का लागि २ करोड ५० लाख, सिन्धुपाल्चोकको इन्द्रावती–५ मा माझी बस्ती विकासका लागि एक करोड, सिन्धुपाल्चोककै हेलम्बुमा माझी बस्ती विकास कार्यक्रमका लागि ३० लाख, चौतारा, साँगाचोक गढीमा एकीकृत नमूना माझी बस्ती विकास कार्यक्रमका लागि ४० लाख, धादिङ एकीकृत बस्ती विकास कार्यक्रमका लागि ४५ लाख बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।

मुसहर जातिको एकिन उत्पत्तिस्थल जानकारीमा आउन सकेको छैन । तर, नेपालमा यो जातिको इतिहास नयाँ भने नभएको विभिन्न ऐतिहासिक दस्तावेजबाट पुष्टि हुन्छ ।

मुसहर समुदाय नेपालको तराई भूभागमा बसोबास गरेको पाइन्छ । अतिसीमान्तकृत समुदायका रुपमा मुसहरहरु नेपालमा बसोबास गरिरहेको छ ।

आर्थिक, राजनीतिक र सामाजिकरुपमा पछाडि परेको उक्त समुदाय हाल केही समय यता आफ्नो जीवनस्तर उठाउन प्रयासरत् छ । पछिल्लो तथ्यांकअनुसार न्यून साक्षरता भएको उक्त समुदायका विद्यार्थीहरु उच्चशिक्षा हासिल गरिरहेको शैक्षिक आँकडाले उल्लेख गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्