जिम्बाबेका लेखक, अमेरिकीहरु बुकर पुरस्कारको सूचीमा



लन्डन ।

 उपन्यास विधातर्फको प्रख्यात बुकर पुरस्कारका लागि मंगलबार सार्वजनिक गरिएको छ जनाको सूचीमा एक जना जिम्बाबेका लेखकको नाम समेत छनौटमा परेको छ ।

सरकार विरोधी प्रदर्शनमा गिरफ्तारीमा समेत पर्नु भएका लेखक चिची दाङ्गारेम्गाको उपन्यास “दिस मर्नेवल बडी” उत्कृष्ट छ मा छनौट भएको हो । यस उपन्यासमा मुख्य पात्रको असफलता र उत्तर–औपनिवेशिककालीन जिम्बाबेको उथलपुथललाई समेटिएको छ ।

यस विधातर्फ विजयी हुनेले ६४ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।

जिम्बाबेका निकै प्रतिष्ठित लेखक दाङ्गारेम्गा गत जुलाईमा पक्राउ परेर एक रात जेलमा बिताउनुभएको थियो । राजधानी हरारेको मुख्य सडकमा एउटा प्लाकार्ड बोकेर उभिएको आरोपमा उहाँ पक्राउ पर्नु भएको जियो जसमा लेखिएको थियोः “हामी अझ राम्रो होस् भन्ने चाहन्छौं । संविधानमा सुधार गरियोस् ।”

बुकर पुरस्कारका लागि छनौटमा परेका लेखकहरुमा यस वर्ष बढी मात्रामा अमेरिकीहरु वा अमेरिकामा रहेबसेका व्यक्तिहरु हुनुहुन्छ । इथियोपियामा जन्मेका माजा मेन्जिस्टको “दी स्याडो किङ”, डियान कूकको “दी न्यू वाइल्डरनेस”, अभनी दोशीको “बन्र्ट सुगर” र ब्रान्डोन टेलरको “रियल लाइफ” पनि बुकरको सूचीमा परेका छन् ।

बेलायतबाट भने एक मात्र छनौटमा परेको छः डग्लस स्टुआर्टको उपन्यास “शग्गी बेन” । स्टुआर्ट पनि अमेरिकामै बसोबास गर्नु हुन्छ । उहाँ न्यूयोर्कमा बर्षौंदेखि रहनु भएको छ ।

विजयीको नाम आगामी नोभेम्बर १७ मा घोषणा गरिनेछ । सन् १९६९ मा स्थापना गरिएको यस पुरस्कारका लागि विश्वभरका अंग्रेजी भाषामा प्रकाशित पुस्तकहरु र लेखकहरुले प्रतिस्पर्धा गर्न पाउँछन् । तर सन् २०१४ सम्म बेलायती, आइरिस र कमनवेल्थ मुलुकका नागरिकले मात्र सहभागी हुन पाउँथे ।

यस वर्षको छनौटले यो पुरस्कारमा अमेरिकी लेखकहरु हाबी हुने सम्भावना बढाएको छ । विगतमा यस्तो भएको थिएन । यसअघि अमेरिकी लेखकहरुमध्ये सन् २०१६ मा पल बेटीको “दी सेलआउट” र सन् २०१७ मा जर्ज साउन्डर्सको “लिन्कन इन दी बार्डो” पुरस्कृत भएका थिए ।

पुरस्कार छनौट समितिकी निर्देशक ग्याबी ऊडले सूचीमा बेलायती उपन्यासकारहरु नपरेकामा आफूलाई दुःख नलागेको बताउनुभयो । उहाँले पाठकहरुले लेखक कुन देशको हो भनेर हेर्न छाडिसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्