उर्जा विकास र फस्टवोडर ट्रान्समिसन लाईनका लागि एमसीसी पारित हुन्छः मन्त्री ज्ञवाली



यमलाल भुसाल, बुटवल ।

परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एम.सी.सी) पारित हुने बताउनु भएको छ । एमसीसी नेपालको उर्जा बिकास र फस्टवोडर टान्समिसन लाईनका लागि महत्वपूर्ण रहेकाले पास गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।
उहाँले त्यसभित्र केही अस्प्रष्ट कुराहरु छन् भने प्रस्टगर्ने र सुधार गर्नुपर्ने कुरा छन् भने सुधार गरेर एमसीसी पारित गरिने बताउनु भएको हो ।

एजेण्डावाईज छलफल गरेर पास हुने बताउँदै उहाँले अझै एजेण्डा भने तय भईनसकेको जानकारी गराउनु भयो ।  प्रेस संगठन नेपाल रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले नेपाल बिद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमानलाई नै या अरु कसैलाई नियुक्ति गर्ने विषयमा सरकार निश्कर्षमा पुगि नसकेको बताउँदै लोडसेडिङ् हटाउने अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी ओलीकै योजना अनुसार काम भएको समेत दावी गर्नुभयो ।

नियुक्ति नविकरणको व्यबस्था नभएको समेत उल्लेख गर्नुभयो । कुलमान घिसिङ्को एक्लो प्रयासले लोड सेडिङ् अन्त्य नभएको उल्लेख गर्दै यो विषयलाई अतिरञ्जित गरिएको बताउनु भएको छ । सरकारले बनाएको योजनामा कुलमानले व्यबस्थापन मात्रै गरेको बताउँदै सबैको सहकार्यले मुलुक लोडसेडिङ् मुक्त भएको उहाँले बताउनु भयो ।

मन्त्री ज्ञवालीले कोरोना भाईरस (कोभिड–१९) को ठूलो भयाभहबाट विश्व जुधिरहेको र मुलुकको अर्थतन्त्रमा यसले ठूलो प्रभाव पारेको उल्लेख गर्दै भयाभह रोक्न र मृत्यदर कम गर्न सरकार लागि परेको समेत उल्लेख गर्नुभयो । नागरिकको स्वास्थ्य र जनजीविकालाई ध्यानमा राखेर सरकार अंगाडी बढेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले भन्नुभयो–‘थप अफ्ठ्यारो नपरोस भन्नेर खुल्ला गरिएको छ, यसलाई अव कोरोना नै अन्त्य भयो भनेर बुझ्नु भएन ।’ उहाँले कोभिड विरुद्धको खोप बनि नसकेका कारण स्वास्थ्य सुरक्षा अपनाउनुको विकल्प नभएको पनि प्रष्ट पार्नुभयो । कोरोना भाईरस (कोभिड–१९) को प्रभाव सन् २०२२ सम्मै रहने सरकारले प्रक्षेपण गरेको बताउँदै उहाँले भदौ अन्त्यसम्म पिक विन्दुमा पुग्ने अनुमान गरिएको भएपनि संक्रमण बढीरहेकाले यसको जोखिम अझै बढ्ने अनुमान गरिएको उल्लेख गर्नुभयो । यसले मुलुकको अर्थतन्त्रलाई निकै कमजोर बनाएको पनि बताउनु भयो । ‘सबैभन्दा ठूलो असर रोजगारीको क्षेत्रमा पर्ने निश्चित छ ।’ मन्त्री ज्ञवालीले भन्नुभयो–‘सन्तुलन कायम गर्नका लागि नेपालले धेरै मिहिनेत गर्नुपर्छ, अर्थतन्त्र चलायमान भईरहँदा पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।’

नेकपा स्थायी कमिटी सदस्य समेत रहनु भएकामन्त्री ज्ञवालीले सत्तासिन दल नेकपा कमजोर हुँदा संविधान कार्यान्वयन, मुलुकको राष्ट्रियता तथा समृद्धि समेत संकटमा पर्ने बताउँदै पार्टीलाई बलियो बनाउनका लागि सिंगो ध्यान आगामी चैतमा हुने एकता महाधिवेशनमा केन्द्रीत गरिएको बताउनु भयो । उहाँले नेकपा झण्डै विभाजनको संघारमा पुगेपनि पुरानै स्थितीमा फर्किसकेको पनि बताउनु भयो ।

मन्त्री परिषदमा तथा मुख्यमन्त्रीसम्म फेरबदल गर्ने गरि पार्टीको आन्तरिक झगडा मिलेको बिषयमा पत्रकारले राखेको जिज्ञासामा मन्त्री ज्ञवालीले सामान्य केही मन्त्रीहरु फेरवदल भएपनि मुख्यमन्त्री फेरवदलको कुनै कुरा नभएको जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्