प्रदेशका ६ जिल्ला अस्पतालको स्तरोन्नति गरिने



बुटवल ।

प्रदेश नं ५ सरकारले प्रदेशअन्तर्गतका जिल्लास्तरीय ६ अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले रुकुम (पूर्व), रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पाका जिल्ला अस्पताल र रुपन्देहीस्थित भीम अस्पतालको स्तरोन्नति गरेर ५० शय्यामा पुर्‍याउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।

यस्तै सरकारले स्तरोन्नति गर्ने अस्पतालमध्ये भीम अस्पताल भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालका लागि ७१–७१ दरबन्दीसमेत स्वीकृत गरेको छ । अर्घाखाँची, रुकुम (पूर्व), रोल्पा, अर्घाखाँची र पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ ।

बैठकले शव बाहन खरीदका लागि ६ पालिकालाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट रु १५ लाखका दरले रु ९० लाख उपलब्ध गराउनेसमेत निर्णय गरेको छ । प्रदेश सरकारले प्युठान जिल्लाको प्युठान नगरपालिका, बर्दियाको गुलरिया नगरपालिका, रुकुम (पूर्व)को सिस्ने गाउँपालिका, रोल्पा जिल्लाको रोल्पा नगरपालिका, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र नवलपरासी –बर्दघाट सुस्तापश्चिमको रामग्राम नगरपालिकालाई शव बाहन खरीदका लागि रकम उपलब्ध गराउने निर्णय गरेको जनाइएको छ ।

रोल्पाको त्रिवेणी गाउँपालिकाको वडा सङ्ख्या र सिमाना हेरफेर गरी क्रम मिलान गर्ने सम्बन्धमा सम्बन्धित गाउँपालिकाबाट प्राप्त प्रस्ताव सङ्घीयसरकारसमक्ष पठाउन स्वीकृति प्रदान गर्ने निर्णय पनि गरिएको छ ।

यस्तै बैठकले गुल्मीको रेसुङ्गा नगरपालिका र बेलायतको हाकिञ्ज परिषद्बीच भगिनी सम्बन्ध कायम गर्न सङ्घीय सरकारमा सिफारिश पठाउने, असोज ३ गते संविधान दिवसका दिन घोषणा गरिने पदक सिफारिश स्वीकृत गरी पदक प्राप्त गर्नेको नाम सोही दिन आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई प्रदेश राजपत्रमा प्रकाशन गर्न स्वीकृति प्रदान गरेको छ ।

बैठकले आन्तरिक मामिला मन्त्रालयअन्तर्गत प्रदेश मामिला सूचना केन्द्रका लागि मन्त्रालय र जिल्लास्थित कार्यालयका लागि १९ जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै नेपाल स्वास्थ्य सेवाअन्तर्गत एघारांैँ तहका डेण्टल सर्जन डा वर्षा थापालाई लुम्बिनी प्रादेशिक अस्पतालमा कामकाजमा खटाउनेसमेत निर्णय भएको प्रेस सल्लाहकार केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्