ट्रेडमार्क मुद्दा मेसीले जिते



एजेन्सी ।

स्पेनिस ला लिगा क्लब बार्सिलोना तथा अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले अब आफ्नो नामलाई ‘ट्रेडमार्क’ को रूपमा दर्ता गर्न पाउने मुद्दा जितेका छन् ।

३३ वर्षीय मेसीले आफ्नो नामलाई ट्रेडमार्कको रूपमा दर्ता गराउन पाउने सो मुद्दा ९ वर्षपछि जितेका हुन् । उनले आफ्नो नामलाई ट्रेडमार्कको रूपमा दर्ता गराउन ९ वर्षअघि दिएको निवेदनको विरुद्धमा मुद्दा परेको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बिहीबार ‘युरोपियन कोर्ट अफ जस्टिस’ ले मेसीको पक्षमा फैसला गरेपछि उनले अब आफ्नो नामलाई ट्रेडमार्कको रूपमा दर्ता गराउन पाउने कानुनी बाटो खुलेको छ । ९ वर्षअघि स्पेनिस साईकल कम्पनी मासी र मेसीबीच नामको विषयमा विवाद हुँदा सो विषयमा मुद्दा दायर भएको थियो ।

स्पेनको कम्पनी ‘मासी’ मेसीको नामसँग मिल्दोजुल्दो सुनिन्छ । सो कम्पनीले साइकल उत्पादन गर्छ भने साइकल चलाउन लगाउने कपडाको समेत व्यापार गर्छ । सन् २०११ मै मेसीले आफ्नो ९थर० नामबाट ‘स्पोटर्स वेयर ब्रान्ड’ का लागि ट्रेडमार्क दर्ता गराउने योजनाअनुसार कानुनी वैधताका लागि निवदेन दिएका थिए । तर, स्पेनकै चर्चित साईकल कम्पनी ‘मासी’ ले मेसी र मासीबीचको ‘लोगो’ उस्तै भएको भन्दै सर्वसाधारणमा अन्योल पर्ने र त्यसले आफ्नो कम्पनीलाई नोक्सान पुग्ने भन्दै मेसीको निवेदनविरुद्द मुद्दा हालेको थियो ।

लामो समय दौरान सो मुद्दा स्थानीय अदालत हुँदै युरोपियन कोर्ट अफ् जस्टिस र इयुको बौद्धिक सम्पत्तिको कार्यालयसम्म पुगेको थियो । सो मुद्दा दर्ता भएको ९ वर्षपछि यसमा अदालतले छिनोफानो गरेको हो ।

युरोपियन अदालतले मुद्दा छिनोफानो गर्दा लोगोलाई लिएर मानिसमा अन्योल नपर्ने र मेसी चर्चित खेलाडी भएकाले दुई कम्पनीको ब्रान्ड र लोगो मानिसले छुट्याउने तर्क पेश गरेको छ । मेसीविरुद्ध हालेको मुद्दामा साईकल कम्पनीले सुरुमा मुद्दा जिते पनि त्यसपछि मेसीले जनरल अदालतमा मुद्दा हालेका थिए । जसमा युरोपियन अदालतले नौ वर्षपछि मेसीको पक्षमा फैसला गरेको हो ।

प्रतिक्रिया दिनुहोस्