वैष्णवीदेवी मन्दिरमा पाटी र कलात्मकद्वार निर्माण हुने



न्युज अफ नेपाल,  ललितपुर ।

ललितपुर महानगरपालिकाको वडा नं ४ नख्खुमा रहेको वैष्णवीदेवी मन्दिर परिसरमा पाटी र कलात्मकद्धारको निर्माण सुरु गरिएको छ ।

उक्त पाटी र कलात्मकद्धारको शिलान्यास ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले गरे । परिसरमा चारवटा घाट छन् । उक्त घाटमा ललितपुरका धेरै धेरै थरका नेवारको दाहसंस्कार गरिन्छ । शिलान्यास गर्दै महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले सुरु गरेको काम समयमै सक्न र गुणस्तरीयता कायम गर्न अनुरोध गरे ।

ललितपुर महानगरपालिकाका एक तिहाइको अन्त्येष्टि यस मन्दिर भित्रको घाटमा हुने भएकाले यसको संरक्षण अत्यन्तै महत्वपूर्ण भएको महानगरप्रमुखले बताए । उनले यसको विकासका लागि महानगरपालिकाको मात्रै भर पर्न नहुने बताउँदै सहयोगी मन र हातहरुसँग सहयोगका लागि माग्नुपर्ने स्पष्ट पारे ।

निर्माण हुन लागेको पाटीमा शववहानबाट ल्याइएको शवलाई केही समय राखिने ललितपुर महानगरका सहरी विकास योजना महाशाखा प्रमुख श्रीकुमार महर्जनले बताए । अहिले शव राख्ने ठाउँ नहुँदा मुख्यद्धारमै छोडिन्छ ।

मन्दिर र घाट क्षेत्रको संरक्षण र विकासको लागि गुरुयोजना तयार गरेको वैष्णवीदेवी मन्दिर तथा श्मसान क्षेत्र सुधार समितिका अध्यक्ष रत्नलाल महर्जनले बताए । गुरुयोजना अनुसार काम अघि बढाउने उनले बताए । उक्त समितिमा उपाध्यक्षद्धय रत्न महर्जन र युवराज शाक्य छन् । कोषाध्यक्ष सानूलाल महर्जन भएको यो समितिका सदस्य भगवान शाही हुन् । मन्दिर र घाटको संरक्षण सहित यस क्षेत्रको संरक्षण सहित सरसफाइ आवश्यक भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्