नतिजामुखी निजामती सेवाको खाँचो



  • प्रेमलकुमार खनाल

निजामती सेवाले ६४ वर्षको यात्रा पार गरेको छ । नेपालको सन्दर्भमा निजामती सेवा कर्मचारीतन्त्रको नेतृत्वकारी संयन्त्र हो । कर्मचारीतन्त्र राज्यको स्थायी सरकार हो । तसर्थ राज्य सञ्चालनका क्रममा कर्मचारीतन्त्रले निर्वाचित सरकारलाई नीति निर्माणमा सही सुझाव दिने र कार्यपालिका तथा व्यवस्थापिकाबाट नीति तथा कार्यक्रम पारित भएपछि त्यसको कार्यान्वयन पनि कर्मचारीतन्त्रले नै गर्ने हो ।

सरकारले अवलम्बन गर्ने नीति कार्यक्रमलाई कार्यान्वयन गरेर अब कार्यकुशलताले मात्रै कार्यक्रमको सफलता, विकास र समृद्धि हासिल हुन सक्तैन । अब यसका लागि कर्मचारीतन्त्रभित्र कार्यशैलीमा नै सुधारको आवश्यकता रहेको छ ।

मुलुकको निजामती प्रशासनका सामु दर्जनौं प्रश्नहरु यतिखेर तेर्सिएका छन् । किन राजस्वको दायरा बढ्न सकेको छैन ? किन राजस्व चुहावट नियन्त्रण हुन सकेको छैन ? किन भ्रष्टाचार र अनियमितता हरेक वर्ष वृद्धि हुँदै गएको छ ? के हाम्रो विकास खर्चमा थोरै भए पनि राजस्व परिचालनबाट योगदान पुग्ने गरी राजस्व संकलन गर्ने योजना बनाई क्रमशः आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्पm उन्मुख बन्न सकिन्न ? किन पुँजीगत खर्च बजेटअनुरुप खर्च हुन सकेको छैन ?

कतै विकास आयोजनाहरु हचुवाका भरमा छनोट त भइरहेका छैनन् ? किन आयोजनाहरु समयमा नै सम्पन्न हुन सकेका छैनन् ? किन सम्पन्न भएका आयोजनाहरुको गुणस्तर कमजोर बन्दै गएको छ ? यी लगायतका प्रश्नहरु यतिखेर निजामती प्रशासनका सामु तेर्सिएका छन् ।

निजामती प्रशासनका सामु तेर्सिएका यी प्रश्नहरुको उत्तर खोजी गर्न कार्यशैलीमा नै सुधारको आवश्यकता रहेको छ । अब प्रशासनमा सुशासनका मूल्य–मान्यतालाई आत्मसात् गरी कार्य सञ्चालन गर्नुपर्दछ । जनताको जीवनस्तरमा सुधार गरी गुणस्तरीय जीवन व्यतीत गर्न सक्ने स्थिति र वातावरणबाट मात्र राष्ट्रले समृद्धि हासिल गर्दछ ।

समृद्धि हासिल गर्न प्रशासनमा सुशासनका मूल्य–मान्यताअनुरुप कार्य सञ्चालन गर्नुपर्दछ । यसका लागि कामप्रति जवाफदेही बन्ने र बनाउने, पारदर्शिता कायम गर्ने, जनताको सेवाप्रति संवेदनशील बन्ने, सेवाप्रवाहमा समता तथा समावेशीतालाई ध्यान दिने, कानुनको पालना गर्ने÷गराउने, निर्णय प्रक्रियामा सरोकारवालाहरुलाई सहभागी गराउने र सबैको सहमतिमा नीति, कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्न सक्दा उत्कृष्ट कार्य सम्पन्न हुन्छ ।

तसर्थ नजितामुखी कार्यपद्धतिलाई प्रशासनमा अवलम्बन गर्न जरुरी छ । मन्त्रालयगत, क्षेत्रगत, विषयगत ढंगले लक्ष्यहरु निर्धारण गर्न जरुरी हुन्छ । लक्ष्य किटानी गरेपछि मात्रै परिणाम मापन गर्न सहज हुन्छ । समृद्धि हासिल गर्ने र सुशासनका मूल्यलाई स्थापित गर्ने कार्य त्यति सहज छैन । यसका लागि प्रशासनलाई नतिजामुखी प्रशासनमा रुपान्तरण गरी कार्य सञ्चालन गर्न जरुरी छ ।

नतिजामुखी प्रशासनले लक्ष्यअनुरुप परिणाम हासिल भयो÷भएन ? परिणामबाट जनताले गुणस्तरीय सेवा–सुविधा पाए÷पाएनन् ? सेवाबाट जनता कति लाभान्वित भए ? यसले देशको समग्र आर्थिक विकासमा योगदान पु¥याउन सक्यो÷सकेन ? भनेर सूक्ष्म ढंगले मूल्यांकन गर्न निर्देशित गर्दछ । दैनिक प्रशासनिक कार्य सञ्चालन गर्दा कार्यकुशलताका साथै कामको प्रभावकारितालाई पनि ध्यान दिनु जरुरी हुन्छ ।

नतिजामुखी प्रशासनमा कुशलताका साथ कार्य गरेर मात्रै हुँदैन, कामको प्रभावकारिता भयो÷भएन भनेर मापन गर्नु अनिवार्य हुन्छ । प्रभावकारिताविनाको कार्यकुशलताबाट मात्र राष्ट्र र जनताका सामु रहेका अभिभारा पूरा हुँदैनन् ।

समृद्ध नेपाल निर्माण गर्ने, समतामूलक समाज स्थापना गर्दै समाजवादको आधार निर्माण गर्ने, राष्ट्रले परिलक्षित गरेको लक्ष्य हासिल गर्न अब नवीन सोच, शैली र कार्यक्रमिक प्रतिबद्धताका साथ प्रशासन सञ्चालन गर्नु सार्वजनिक क्षेत्रको निजामती सेवाभित्रको अहं दायित्व भएको छ ।

यस्तै, नतिजामुखी प्रशासनमा निर्धारित लक्ष्यअनुरुपको काम र योजना कहिले, कसरी पूरा गर्ने भन्ने समय निर्धारण हुनु जरुरी हुन्छ । निर्धारित लक्ष्यहरु जनतालाई फोकस गरेर, जनतालाई सेवा पु¥याउने, सेवामुखी, गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ हुनु जरुरी हुन्छ ।

लक्ष्यहरु निर्धारण गर्दा जनतालाई पु¥याउने सेवा सर्वसुलभ हुनुपर्दछ । यसो हुँदा मात्र समाजमा समानता र सामाजिक न्यायलाई स्थापित गर्न मद्दत पुग्छ । जनतालाई प्रदान गरिने सेवाबाट राज्यले पनि उचित प्रतिफल प्राप्त गर्ने गरी, राष्ट्रिय आम्दानीमा अभिवृद्धि गर्ने ढंगले सेवाप्रवाह गरिनुपर्दछ ।

नतिजामुखी प्रशासनअन्तर्गत कार्य सञ्चालन गर्न मुख्यतया समूह कार्यलाई उच्च प्राथमिकता दिनुपर्दछ । एक–अर्काेबीच सहयोगी भावनाका साथ कार्य सञ्चालन हुन सकेन भने अपेक्षित लक्ष्य हासिल हुन्न र काममा समेत प्रभावकारिता आउँदैन । प्रशासनभित्र दण्ड र पुरस्कारको पद्धतिलाई प्रभावकारीरुपमा लागू गर्नुपर्दछ ।

सबै तहमा काम गर्ने कर्मचारीको मनोबललाई उच्च बनाउने गरी समयोचित आर्थिक सुविधा वृद्धि, काम गर्ने उचित वातावरण, राजनीतिक हस्तक्षेपको अन्त्य गरेर निष्पक्ष र तटस्थ भएर कार्यसम्पादन गर्न प्रेरित गर्नु जरुरी हुन्छ । र, कर्मचारीहरुले सम्पादन गरेको कामको निष्पक्ष भएर मूल्यांकन गर्ने पद्धतिको विकास गर्नुपर्दछ ।

नतिजामुखी प्रशासन सञ्चालन गर्न प्रशासनभित्र सबै तहमा नेतृत्व गर्ने व्यक्तिको महत्त्वपूर्ण भूमिका हुन्छ । अतः विद्यमान चुनौती र लक्ष्य हासिल गर्न सक्ने सक्षम, योग्य, रणनीतिक सोच चिन्तन गर्न सक्ने व्यक्तिहरुको नेतृत्वमा छनोट गर्न सक्नुपर्दछ । उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी र नेतृत्व भन्ने मान्यतालाई केन्द्रमा राखेर प्रशासकहरुको छनोट गरिनुपर्दछ ।

मुलुकमा भएको युगान्तकारी परिवर्तनसँगै स्थायी सरकारको रुपमा रहेको निजामती प्रशासनलाई अब नतिजामुखी प्रशासनको रुपमा रुपान्तरण र विकास गरेर लैजानु जरुरी छ । नतिजामुखी प्रशासनले कामको प्रभावकारितालाई ध्यान दिने भएको हुँदा यसलाई कर्मचारीतन्त्रभित्र अवलम्बन गर्नु जरुरी छ । अनि मात्र समृद्धि हासिल गर्न र सुशासनका मूल्य–मान्यतालाई स्थापति गर्न सकिन्छ । अतः यतिखेर मुख्यरुपमा राजनीतिक क्षेत्रबाट यस विषयमा ध्यान दिई प्रशासनलाई त्यस दिशामा अगाडि बढ्न निर्देशित र पे्ररित गर्न जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्