नगरपालिकाले गर्यो अवैध ढुङ्गा जफत



गोकुल घोरसाइने, बारा

निषेधित अवधिमा संकलन गरेको करिब १ करोड रुपियाँ मूल्य बराबरको अवैध ढुङ्गा जफत गरिएको छ । निजगढ नगरपालिकाले दुई दिनमा बकैया र धन्सार खोला किनाराबाट अवैध ढुङ्गा जफत गरेको हो ।

जफत भएको ढुङ्गा करिव ९ सय ५५ टिपर बराबर रहेको सोको प्रचलित बजार मूल्य न्यूनतम करिब १ करोड रुपियाँ हुने नगरपालिकका सब–इन्जिनियर नवीन खनालले बताउनुभयो । नगरपालिकाले मंगलबारबाट शुरु गरेको अवैध ढुङ्गा जफत गर्ने अभियान बुधबार पनि जारी राखेको थियो ।

कार्यालयका कर्मचारी र सुरक्षाकर्मीको टोलीले बुधबार निजगढ नगरपालिका–४ बकैया खोला किनाराबाट २ हजार ६ सय ३० दशमलव ७५ घनमिटर ढुङ्गा जफत गरेको थियो । यसअघि मंगलबार धन्सार र बकैया खोलाबाट संकलन गरिएको १० हजार १ सय ७६ दशमलव ७० घनमिटर ढुङ्गा जफत गरेको थियो ।

ढुङ्गा जफत गर्ने क्रममा नगरप्रमुख सुरेश खनाल र उपप्रमुख लीलादेवी लामिछाने खोला किनारामा पुग्नुभएको थियो ।

प्राविधिक कर्मचारीसहितको टोलीले ढुङ्गा घाटगद्दी स्थानमा नै पुगेर नापचाँच र नगरपालिकाको चिह्न लगाएर सम्बन्धित वडाका वडा ध्यक्षको रोहबरमा मुचुल्का बनाइ अवैत्र ढुङ्गा जफत गरिएको उहाँले जानकारी दिनुभयो ।

नगरप्रमुख खनालले विभिन्न संचार माध्यममा खोला बगरबाट अवैधरुपमा उत्खनन गरेर घाटगद्दी गरिएको भन्ने समाचार प्रशारण भएपछि नगरकार्यपालिका बैठकको निर्णयअनुसार ढुङ्गा जफत गरिएको बताउनुभयो ।

प्रचलित कानुनअनुसार हरेक वर्ष वर्षायामको असारदेखि भदौसम्म ३ महिना खोला बगरमा प्रवेश गर्न रोक लगाइने गरेको छ । तर, कानुन उल्लंघन गर्दै बकैया र धन्सार खोलाको बगरबाट उक्त अवधिमा ठूलो परिमाणको ढुङ्गा उत्खनन भएको थियो ।

स्थानीय केही ट्याक्टरधनीले वीरगन्ज, सिमरा र निजगढ बजार क्षेत्रका व्यापारीमार्फत बिक्री गर्न अग्रिम भुक्तानी लिएर खोला बगरबाट निकालेर ढुङ्गा स्टक गर्दै आएका स्थानीय बताउँछन् । जफत गरिएको ढुङ्गा लिलाममा बिक्री हुने नगरप्रमुख खनालको कथन छ ।

प्रतिक्रिया दिनुहोस्