मैत्रीपूर्ण खेलमा बार्सिलोनाको जित



लन्डन, (एजेन्सी)
स्पेनिस क्लब बार्सिलोनाले प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा जितको नतिजा निकालेको छ।
कप्तान लिओनल मेसीले दुई गोल गरेपछि बुधबार राति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले दोस्रो डिभिजनको टिम जिरोनालाई ३–१ को गोलअन्तरले हराएको हो।

बार्सिलोनाले पकड जमाएको खेलमा बायर्न म्युनिखबाट फर्केका ब्राजिलियन फिलिपे कोउटिन्होले पहिलो गोल गरे। उनले खेलको २१औं मिनेटमा युवा खेलाडी फ्रान्सिस्को ट्रिनकाओको पासमा सहजै गोल गरेका थिए। त्यसपछि पहिलो हाफको अन्तिम समयमा कप्तान मेसीले फिलिपे कोउटिन्होकै पासमा गोल गरेपछि बार्सिलोना पहिलो हाफसम्म २–० ले अघि रह्यो।

दोस्रो हाफ शुरू हुनासाथ पाहुना टोली जिरोनाले गोल गरेर खेलमा फर्किने संकेत देखाएको थियो। त्यसै क्रममा ४६औं मिनेटमा सामुएल सइजले गोल गरेर खेल २–१ को स्थितिमा ल्याएका थिए। तर, गोल व्यहोरेको ५ मिनेटमै कप्तान मेसीले सर्जी रोबेर्टोको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि खेलमा बार्सिलोनाले ३–१ को अग्रता बनाएको थियो।

खेलको ६३औं मिनेटमा बार्सिलोनाले शुरूआतको सिंगै टोली परिवर्तन गरेर नयाँ टोली उतारेको थियो। युवा खेलाडीको दोस्रो सेटले बाँकी समयमा थुप्रैपटक गोलको अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्। तर, बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल बार्सिलोनाले ३–१ को गोलअन्तरले जितेको हो।

प्रतिक्रिया दिनुहोस्