द्वन्द्व कलाकार पुजारीको स्मृतिमा सभा



द्वन्द्व कलाकार सुरेशसिंह पुजारीको १३औं दिनको पुण्य तिथिमा उनका सहकर्मी साथी तथा गुरुले बिहीबार उनकै निवासमा श्रद्धाञ्जलीसभा आयोजना गरेका छन्।

हृदयघातका कारण निधन भएका द्वन्द्व कलाकार, सहायक द्वन्द्व निर्देशक तथा निर्माता सुरेशका द्वन्द्व कलाकार साथीहरू नानीकाजी डंगोल (नागे), राजीव मानन्धर (टार्जन), उमेश नेवाः, भानु महर्जन, उत्तम नेवाः, बाबु खड्गी, रोशन श्रेष्ठ, सुशील खड्गी, अशोक खड्गी, नरेन्द्र केसी, राजुजंग थापा र राजेन्द्र खड्गीको राजेन्द्र खड्गी ग्रुपले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा फिल्मकर्मी तथा उनका साथीभाइले उनीप्रति भावपँर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए।

सुरेशको सम्झनामा एक मिनेट मौन धारण गरी शुरु भएको कार्यक्रम कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै आधा घण्टामा समापन गरिएको थियो।

कार्यक्रममा नायक तथा निर्माता रमेश उप्रेतीले २०४८ सालमा मा आफ्नो पहिलो डेब्यु फिल्ममा सुरेशसँग काम गरेको स्मरण गर्दै सुरेशको निधन भइसकेको भनेर अहिले पनि विश्वास गर्न नसकिरहेको बताए। सुरेशका समकालीन द्वन्द्व कलाकार मित्र नानिकाजी डंगोल (नागे) ले सुरेशलाई स्मरण गर्र्दै उनी निर्मातालाई आर्थिक समस्या पर्दासमेत सहयोग गर्न अगाडि बढ्ने गरेको बताए। ‘उहाँ एकदमै राम्रो मान्छे हुनुहुन्थ्यो। मिलनसार, मिजासिलो र सबैलाई सहयोग गरौं भन्ने भावना राख्नुहुन्थ्यो।

फिल्म निर्माणको काम गर्दा गर्दै पैसा पुगेन भने सुरेश आफैंले बिनाब्याज पैसा दिएर सहयोग गर्नुहुन्थ्यो। तर फिल्म अपुरो हुन दिनुहुन्न्थ्यो। उहाँजस्तो व्यक्ति गुमाउनुपर्दा नेपाली फिल्म क्षेत्रले ठँलो क्षति व्यहोर्नुपरेको छ।’ –नानीकाजीले भने।

पुजारीको गत भाद्र २० गते राजधानीको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। इभिनिङ वाकका क्रममा छातीमा अप्ठेरो महसुस भएपछि सुरेश एक भाइका साथ स्वास्थ्य परीक्षणका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुगे पनि उपचार नगरी फर्केका थिए।

अस्पतालको गेटअगाडि पुग्दासम्म आराम भइसकेको तथा अहिलेको परिस्थितिमा अस्पताल जानु जोखिम हुने सोची उनी गेटबाटै फर्केको नानिकाजीले बताए। ‘भोटेबहालस्थित घर फर्किंदा मेडिकलबाट औषधि किनेर खाई त्रिपुरेश्वर पुग्दा छातीमा थप पीडा हुन थालेपछि उहाँ ब्लु क्रस हस्पिटल पुग्नुभएको थियो। उहाँसँगै पुुगेको भाइले डक्टरले भनेबमोजिम औषधि लिन गएको बेला उहाँ हस्पिटलमै ढल्नुभयो र निधन भयो।’ –डैगोलले सुनाए।

फिल्म नाताबाट द्वन्द्व कलाकारिता शुरु गरेका सुरेशले द्वन्द्व निर्देशक राजेन्द्र खड्गीको नेतृत्वमा रहेर करिब ३ सय फिल्ममा अभिनय गरेका थिए। उनले २०६५ सालमा फिल्म रणसंग्राम निर्माण गरेका थिए भने २०७१ सालबाट व्यवसायिकरूपमा फिल्ममा प्रयोग हुने उपकरणहरु उपलब्ध गराउँदै आएका थिए। पछिल्लो समय उनी सिने जोनमा संलग्न थिए। ५४ वर्षीय पुजारी करिब ३ दशकदेखि द्वन्द्व कलाकारिताको क्षेत्रमा सक्रिय थिए।

प्रतिक्रिया दिनुहोस्