महानगरका १० वटा वडाको राजस्व प्रणाली अनलाइनमा



नेपाल समाचारपत्र, काठमाडौं

काठमाडौं महानगरले बिहीबारदेखि १० वटा वडाबाट राजस्व निर्धारण तथा संकलन कार्यलाई अनलाइन प्रणालीमा लगेको छ । आउँदो हप्ताभित्र सबै वडामा लागू गर्ने योजनासहित वडा नम्बर २६ बाट सेवा शुरू गरिएको हो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले स्थानीय करदाता सरस्वती सापकोटालाई प्रणालीबाट प्राप्त भएको रसिद हस्तान्तरण गर्दै सेवा शुभारम्भ गर्नुभएको थियो । सेवा शुभारम्भ गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले महानगरका हरेक सेवालाई विद्युतीय प्रणालीमा रुपान्तरण गर्दै लैजाने बताउनुभयो ।

‘राजस्व प्रशासनमा करदातालाई विश्वास दिलाउनुपर्छ । करदातामा सार्वजनिक निकायप्रति विश्वास भयो भने राजस्व संकलन बढ्दै जान्छ । सार्वजनिक प्रशासन पहिलेको जस्तो होइन । अबको प्रशासन सहभागितामुलक, पारदर्शी हुनुपर्छ । यसका लागि प्रविधि नै उपयुक्त विकल्प हो ।’ उहाँको भनाइ थियो ।

उक्त कार्यक्रममा महानगरका सहसचिव राजेश्वर ज्ञवालीले प्रविधिबिनाको सेवा व्यवस्थापन कल्पना गर्न सकिँदैन भन्दै महानगरले प्रविधि पूर्वाधारमा लगानी बढाएर सेवा व्यवस्थापन र सुविधा वितरणमा थप काम गर्ने बताउनुभयो छ । त्यस्तै वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारीले विद्युतीय प्रणालीबाटै कर मूल्याङ्कन गर्नु र निर्धारित कर भुक्तानी गर्नु स्मार्ट सिटी निर्माणका लागि पहिलो शर्त भएको टिप्पणी गर्नुभयो ।

महानगरका राजस्व विभागका प्रमुख नुरनिधि न्यौपानेले वडाका कर्मचारीको क्षमता विकासका लागि प्रणालीको प्रयोगात्मक सिकाइका कक्षा सञ्चालन गरिरहेको भन्दै यसलाई सबैको पहुँचमा लैजाने धारणा राख्नुभयो । राजस्व विभागका निर्देशक शिवराज अधिकारीका अनुसार महानगरको १, २, ३, ४, १०, १५, २६, ३० र ३१ वडाको राजस्व प्रणाली अनलाइन प्रयोगमा आइसकेको छ । सरकारले सञ्चालनमा ल्याउन लागेको नागरिक एपमा यो प्रणालीलाई इन्टिग्रेसन गराइसकिएको छ । यस प्रणालीको मुख्य काम कर तथा राजस्वको अभिलेखन, कर निर्धारण तथा असुलीसम्बन्धी कामलाई स्वचालित बनाउनु हो ।

अब महानगरबासीले आफूले महानगरलाई तिर्नुपर्ने कर बुझाउन वडा वा राजस्व विभागमा पुग्नु पर्र्दैन । काठमाडौं महानगरको वेभ पेज ठेगानालाई सबडोमेन ईसर्भिस डट काठमाडौं डट जीओभी डट एनपीमा लगइन गरेपछि राजस्व तिर्ने पब्लिक पोर्टलमा पुगिन्छ । यही पोटर्लको प्रयोग गरेर सबै प्रकारका कर, राजस्व, दस्तुर र शुल्क भुक्तानी गर्न र आफूले भुक्तानी गरेको रकमको रसिद प्राप्त गर्न सकिन्छ ।

प्रणालीका विकासकर्ता सांग्रिला इन्फरमेटिक्स प्रालिका अध्यक्ष बसन्त वन भन्नुहुन्छ–‘सार्वजनिक सेवालाई भरपर्दो, सुलभ, गुणस्तरीय र पहुँचयोग्य बनाउन यस प्रकारको प्रणाली अनिवार्य आवश्यकता हो । कोरोना महामारीका कारण स्वयं उपस्थित भएर सेवा प्रदान गर्न असहज भएको यस अवस्थामा विद्युतीय प्रणाली विकास गर्ने र कार्यान्वयन गर्ने उपयुक्त अवसर पनि हो ।’

यस प्रणालीको पब्लिक पोर्टल करदाताका लागि हो भने कोर पोर्टल कार्यालयमा बस्ने अधिकारीका लागि हो । पब्लिक पोर्टलमा सम्पत्ति कर, व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर, घर नक्सा पास दस्तुरलगायतका सम्पूर्ण कर र दस्तुरका बारेमा विवरण भर्ने, प्रारम्भिक करको अङ्क प्राप्त गर्नेलगायत सुविधा लिन सक्छन् ।

करदाताको विवरण पेस भएपछि कर मूल्यांकन अधिकृतले प्रचलित कानुन र दररेटका आधारमा कर मूल्यांकनलाई रुजु गरी स्वीकृत गर्नेछन् । त्यसपछि करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणाली ई–सेवा, कनेक्टआईपीएस, खल्ती, फोनपे, आईएमईपे, प्रभु पेलगायतबाट भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्