शुभ यात्रा !



कोरोना संक्रमणको कारण पाँच महिनादेखि ठप्प लामो दुरीको सवारीे बिहीबारबाट सञ्चालन भएका छन् । सरकारले हिजोबाट सवारी सञ्चालन अनुमति दिएपछि ब्यवसायीमा खुसीयाली छाएको छ । रोगको कारणभन्दा भोकले प्रताडित सवारी मजदुरको मुहार हँसिलो भएको छ । सरकारको निर्णयसँंगै सवारी साधन सञ्चालन हुने भएपछि राजधानी छाड्ने यात्रुले टिकट बुकिङ गर्न थालेका छन् । गोंगबु बसपार्कमा टिकट काट्नेको चाप शुरु भएको छ । कलंकी, कोटेश्वर र बल्खुमा चहलपहल बढ्न थालेको छ ।

यद्यपि आम व्यवसायीमा खसीयाली मात्र होइन सतर्कताको भाव पनि देखिन्छ । संक्रमणको बढ्दो अवस्थामा सवारी सञ्चालन गर्दा सावधानी नअपनाउने हो भने थप संक्रमण बढ्ने अवस्थाप्रति उनीहरु सजग छन् । सवारी साधन सञ्चालन गर्दा एक सेट सिटमा एकजना मात्र राख्ने, मास्क, पञ्जा र सेनिटाइजरको अनिवार्य व्यवस्था गर्ने, एक–अर्काबीच भौतिक दुरी कायम गर्नेलगायत मापदण्ड पूरा गर्नसके मात्र खोलिएको व्यवसायले निरन्तरता पाउँछ, अन्यथा पुनः कुनै पनि बेला महामारी बढ्ने र पुनः निषेधाज्ञा वा लकडाउनको मारमा पर्नुपर्ने पाठ सबै व्यवसायीले पाइसकेका छन् ।

व्यवस्थित यात्रा गर्न सरकारले ५० प्रतिशत भाडा बढाउने निर्णय गरिसकेको छ । त्यसलाई व्यवस्थित गर्न स्थानीय निकाय, प्रहरी प्रशासनले गम्भीर ध्यान दिनुपर्छ । बस चढ्ने र ओर्लने स्थानमा अनुगमन गर्ने, चेक प्वाइन्ट बनाएर राजमार्गको विभिन्न क्षेत्रमा निगरानी बढाउनु जरुरी छ । सवारी साधन सञ्चालन भैसकेपछि यात्रुलाई खाजा र खाना खाने होटलको व्यवस्थापनको अनुगमन गर्ने दायित्व पनि उत्तिकै महत्वपूर्ण छ ।

स्वास्थ्य पूर्वाधानर पालना गरेका घाजाघरमा मात्र भोजन गर्ने व्यवस्था हुनुपर्छ । मापदण्ड पालना भए–नभएको विषयमा प्रहरी प्रशासनले अनुगमन गरिरहेको हुनुपर्छ । त्यसो भएमा मात्र सरकारले लामो दुरीको सवारी साधन सञ्चालन गरेको औचित्य पुष्टि हुन्छ ।

पुनः निषेधाज्ञा दोहोरिने आवस्था आउन नदिन व्यवसायी, यात्रु, चालक सबैले सावधानी अपनाउनु आवश्यक छ । सरकारले जारी गरेको स्वाथ्य मापदण्ड पूरा गरेर सवारी साधन सञ्चालन गर्दा संक्रमण कम हुनसक्छ । सरकारको मुख ताक्नु भन्दापनि आफै सचेत भएर मापदण्ड अपनाउँदा व्यवसाय माथिको खतरा टर्नसक्छ ।

अबको एक महिनाबाट दशै शुरु हुदैछ । दशैंमा राजधानी छाड्नेको भीड त्यतिकै बढ्नसक्छ । दशैंको मुखमा मापदण्ड पालना गरी सवारी सञ्चालन गर्नु सबैको दायित्व हुन्छ । बसपार्कमा भीडभाड कम गर्न तत्काल इ–टिकेटिङ प्रणाली लागु गर्नुपर्छ । बसपार्कमै टिकट काट्न पुग्नेले अनिवार्य रुपमा स्वाथ्य मापदण्ड पूरा गर्नुपर्छ । स्वाथ्य मापदण्ड पूरा नगरी सवारी साधन प्रयोग गरेर कसैलाई संक्रमण देखिएमा भने त्यसको परिणाम नकरात्मक हुनसक्छ ।

सवारी खुल्यो भनेर मख्ख परेर घर फर्कर्नु भन्दापनि आफू सजग र इमान्दार भएर स्वास्थ्योपचारका पूर्वाधारको पालना गर्दै दशैं मनाउनु आवश्यक छ । यस विषयमा सरकार, सवारीधनी सवारी चालक मदजुर र सरोकारवाला निकायले पूर्ण सावधानी अपनाउनुपर्छ । म एक जनाले लापर्वाही गर्दैमा के फरक पर्छ र, एकै छिन त मास्क नलगाएको हो नि भन्नेजस्ता व्यववहार सबैले त्याग्नुपर्छ । शुभ यात्रा !

प्रतिक्रिया दिनुहोस्