२१ वटा भित्री सडक निर्माण शुरु



ललितपुर, (नेस)
ललितपुर महानगरपालिकाले फेज ३ अन्तर्गतको २१ वटा भित्री सडकको निर्माण शुरु गरेको छ ।
ती सडकमध्ये बिहीबार महानगरपालिकाको वडा नं १५ स्थित स्विमिङपुलदेखि ओलम्पिक कमिटी कार्यालयसम्मको सडक खण्डको शिलान्यास गरिएको हो । यो सडक खण्डको लम्बाइ ३ सय ४० मिटर रहेको छ । फेज ३ अन्तर्गतको २१ वटा नै सडकको लम्बाइ भने ८ दशमलव ६२ किलोमिटर रहेको छ । यी सबै सडक निर्माणको खर्च २ करोड ६८ लाख लाग्ने महानगरले बताएको छ ।
सडक शिलान्यास गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाभित्र निर्माण हुने सडकको विशेषता भिन्न हुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘ललितपुर महानगरभित्र बनेका जति पनि सडक छन्, तिनको मोटाइ बढी छ, मोटाइ बढी भएकाले ती सडक बनाएको वर्र्षभित्र भत्कने छैनन्, केही वर्ष खप्छन् ।’ महानगरप्रमुख महर्जनले निर्माण भएका सडकको गुणस्तरीयता मापन प्राविधिकसहितको जनप्रतिनिधि टोलीले गर्ने जानकारी दिनुभयो ।
सडक बनाएको एक वर्ष पनि नपुग्दै भत्किँदा महानगरबासी समस्यामा पर्ने भएकाले महानगरले विशेषतासहितको सडक निर्माण गरेको महर्जनले प्रस्ट पार्नुभयो । सडक निर्माणका लागि वडाबासी सबैको सहयोग अपरिहार्य हुने उहाँको भनाइ छ ।
ललितपुर महानगरपालिका पूर्वाधार महाशाखा प्रमुख रुद्र गौतमले १२ वटा सडक निर्माण ९ महिनाभित्र सक्नुपर्ने सम्झौता भएको बताउनुभयो । अन्य सडकको निर्माण कार्य पनि क्रमशः शुरु गर्ने उहाँले जानकारी दिनुभयो ।
वडा नं १५ का वडाध्यक्ष सुदर्शन मिश्रले बन्दै गरेको सडकलाई महानगर र वडाले अनुगमन गर्ने बताउनुभयो । सडक समयमै निर्माण सम्पन्न गर्न स्थानीयको भूमिका महŒवपूर्ण हुने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्