असोज ४ बाट नियमित सेवा सञ्चालन हुने



नेपाल समाचारपत्र, काठमाडौं

जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज ४ गतेदेखि नियमित सेवा सञ्चालन गर्ने भएको छ । कार्यालयले कोरोना संक्रमितहरुको संख्या बढेसँगै आफ्ना सामान्य सेवाहरु रोकेको थियो ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रशासन कार्यालयले यसअघि साउन २५ देखि केही सेवाहरु स्थगित गरेको थियो । प्रशासन कार्यायले बिहीबार सूचना जारी गर्दै नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राहदानी, हातहतियार दर्ता, पत्रपत्रिका, संघसंस्था दर्ता र नवीकरणसम्बन्धी सेवा असोज ४ देखि खुला हुने जनाएको छ ।

कार्यालयमा भीड हुन नदिन सेवाग्राहीलाई स्थानीय तहअनुसार सेवा लिने बार तोकिएको छ । प्रशासनले नागरिकता प्रमाणपत्र,
नागरिकताको प्रतिलिपि, नाबालिग परिचयपत्र, राहदानी, हातहातियार दर्ता नवीकरण सेवा लिन एक दिनमा दुईवटा नगरपालिकाका नागरिक मात्र आउन पाउने गरी तालिका बनाएको छ ।

नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नाबालिग परिचयपत्र, राहदानी, हातहतियार दर्ता नवीकरण आदि सेवा लिन आइतबार काठमाडौं महानगरपालिका, सोमबार कीर्तिपुर, नागार्जुन, चन्द्रगिरि नगरपालिका, मंगलबार काठमाडौं महानगरपालिका, बुधबार बूढानीलकण्ठ, टोखा, कागेश्वरी मनोहरा नगरपालिका, बिहीबार काठमाडौं महानगरपालिका र शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर, तारकेश्वर नगरपालिकामा तालिका मिलाइएको छ ।

यस्तै पत्रपत्रिका र छापाखाना दर्ता र विधान संशोधनको काम शुक्रबार मात्रै हुने सूचनामा उल्लेख छ । संघसंस्थाको प्रतिलिपि पत्राचारसम्बन्धी सेवा भने प्रत्येक दिनको ४ बजेपछि गरिने उल्लेख छ ।

यसबाहेक शान्ति सुरक्षाको निवेदन र कानुनबमोजिम हुने मुद्दासम्बन्धी कार्य, सरकारी कार्यालय र आयोजनासँग सम्बन्धित समन्वय र छलफलको काम भने हप्ताको छ दिन नै सञ्चालन हुने कार्यालयले जनाएको छ ।

प्रशासनले सेवाका लागि आउँदा आफ्नो बार मिलाएर मात्रै आउनुपर्ने, सीमित र आवश्यक व्यक्ति मात्रै आउन सक्ने, सबै कागजात पूरा गरेर मात्रै आउनुपर्ने, टोकन प्रणालीको आधारमा मात्रै कार्यालयमा प्रवेश दिइने, मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने, रुघाखोकी, ज्वरोजस्ता लक्षण देखिएकालाई प्रवेश नदिइने व्यवस्थासमेत गरेको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्